देश

मेयर्स फोरमले प्रधानमन्त्रीलाई भेटेर फोहोर व्यवस्थापनबारे ध्यानाकर्षण गराउने

काठमाडौं । काठमाडौं उपत्यका मेयर्स फोरमले प्रधानमन्त्री बालेन्द्र शाहलाई भेटेर उपत्यकाको फोहोर व्यवस्थापनसहित समसामयिक विषयमा ध्यानाकर्षण गराउने निर्णय गरेको छ।

मंगलबार बसेको फोरमको आकस्मिक बैठकले प्रधानमन्त्रीसँग यथाशीघ्र भेटघाटको समय माग गर्ने निर्णय गरेको हो। भेटमा उपत्यकाको फोहोर व्यवस्थापन, सडक बत्तीको शुल्क व्यवस्थापन, स्थानीय तहले प्रयोग गरिरहेका जग्गाको भोगाधिकार तथा फोहोर व्यवस्थापनका लागि आवश्यक जग्गा व्यवस्थापनलगायत विषयमा छलफल गरिने फोरमले जनाएको छ।

बैठकले भदौ ५ गते सिंहदरबारमा भएको फोहोर व्यवस्थापनसम्बन्धी बैठकमा फोरमका पदाधिकारी तथा सदस्यहरूमाथि सांसद आशिका तामाङबाट भएको व्यवहारप्रति समेत आपत्ति जनाएको छ। उक्त विषयमा पनि प्रधानमन्त्रीसँगको भेटमा ध्यानाकर्षण गराउने निर्णय भएको छ।

फोरमका अनुसार प्रधानमन्त्री शाह काठमाडौं महानगरपालिकाका प्रमुख रहँदादेखि नै उपत्यकाको फोहोर व्यवस्थापनबारे छलफल हुँदै आएको छ। तत्कालीन सरकार र नेप बेस्टबीच भएको सम्झौता कार्यान्वयन गर्ने वा सम्झौता खारेज गरी फोहोर व्यवस्थापनका लागि नयाँ विकल्प खोज्ने विषयमा समेत पटक–पटक छलफल भएको फोरमले जनाएको छ।

फोरमले फोहोर व्यवस्थापन तीनै तहका सरकारको साझा सरोकारको विषय भएकाले यसको दीर्घकालीन समाधानका लागि स्थानीय सरकार प्रतिबद्ध रहेको जनाएको छ। फोहोर व्यवस्थापनलाई व्यवस्थित र दीर्घकालीन बनाउन संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय आवश्यक रहेको फोरमको निष्कर्ष छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *