दाङ। राप्ती आँखा अस्पताल रक्षाचौरले एक वर्षको अवधिमा १४ हजार ४७७ जनाको मोतियाविन्दुको शल्यक्रिया गरेको छ। अस्पतालले आर्थिक वर्ष २०८२/८३ मा उक्त संख्यामा मोतियाविन्दुको शल्यक्रिया गरेको हो।
अस्पतालका सूचना अधिकारी बालाराम खड्काका अनुसार सो अवधिमा तीन हजार ६५५ जनाको अन्य आँखासम्बन्धी शल्यक्रिया पनि गरिएको छ। अस्पताल तथा विभिन्न आँखा उपचार केन्द्रमार्फत दुई लाख ४० हजार २५९ जनालाई आँखा उपचार सेवा प्रदान गरिएको छ।
आर्थिक अवस्था कमजोर भएका तथा उपचारको पहुँचबाट वञ्चित बिरामीलाई अस्पतालले निःशुल्क उपचार सेवा उपलब्ध गराउँदै आएको छ। गत आर्थिक वर्षमा सञ्चालन गरिएका निःशुल्क आँखा शिविर तथा जाँच कार्यक्रममार्फत ९७ हजार ६६९ जनाको आँखा परीक्षण गरिएको थियो। त्यसमध्ये चार हजार ९१८ जनाको निःशुल्क मोतियाविन्दुको शल्यक्रिया गरिएको खड्काले जानकारी दिनुभयो।
अस्पतालले ७५ हजार ९५५ जनाको चस्मा परीक्षण गरेकामा ३९ हजार ५८६ जनालाई चस्मा प्रयोग गर्न सिफारिस गरेको छ। त्यस्तै १४ हजार ४७७ जनालाई कानसम्बन्धी उपचार सेवा प्रदान गरिएको छ।
उपचारपछि फर्कियो दृष्टि
तुलसीपुर उपमहानगरपालिका–११ की ४८ वर्षीया शारदा चौधरीले १३ वर्षपछि दुवै आँखाको दृष्टि पुनःप्राप्त गर्नुभएको छ। आर्थिक अभाव र चेतनाको कमीका कारण समयमै अस्पताल पुग्न नसक्दा लामो समयसम्म दृष्टिविहीन भएर बस्नुपरेको उहाँले बताउनुभयो।
गाउँका अगुवा तथा बुद्धिजीवीको पहलमा गत पुसमा राप्ती आँखा अस्पताल पुग्नुभएकी चौधरीको परीक्षण गर्दा दुवै आँखामा छिप्पिएको मोतियाविन्दु देखिएको थियो। आर्थिक अवस्था कमजोर रहेकाले एनएविपी नर्वेको आर्थिक सहयोग तथा राप्ती आँखा अस्पतालको प्राविधिक सहयोगमा उहाँको निःशुल्क शल्यक्रिया गरिएको थियो।
दृष्टि फर्किएपछि चौधरीले आफूले लामो समय भोगेको पीडा अन्त्य भएको बताउनुभयो। उहाँले भन्नुभयो, “आँखा देख्न नसक्दा धेरै पीडा भोगेको थिएँ, तर अहिले धेरै खुसी छु।”
त्यस्तै तुलसीपुर–७ का ६४ वर्षीय ठगी दमाईले पनि करिब १० वर्षपछि आँखाको दृष्टि पुनःप्राप्त गर्नुभएको छ। आर्थिक अवस्था कमजोर रहेका दमाईको गत माघ ७ गते अस्पतालमा परीक्षण गर्दा मोतियाविन्दु देखिएपछि भोलिपल्टै शल्यक्रिया गरिएको थियो।
अस्पतालले आर्थिक अवस्था कमजोर भएकै कारण उहाँको शल्यक्रिया निःशुल्क गरेको जनाएको छ।
नेपाल नेत्रज्योति सङ्घको आँखा स्वास्थ्य कार्यक्रमअन्तर्गत सञ्चालित राप्ती आँखा अस्पतालले वार्षिक रूपमा तीन लाखभन्दा बढी सेवाग्राहीलाई आँखा उपचार तथा परीक्षण सेवा दिँदै आएको छ।
अस्पतालसँगै बहादुरगञ्ज, कपिलवस्तु, सल्यान, रुकुम पूर्व, कोइलावास, घोराही, रुकुम पश्चिम तथा रोल्पाको सुलिचौर सर्जिकल सेन्टरबाट समेत आँखा स्वास्थ्य सेवा सञ्चालन हुँदै आएको छ।




