देश

नयाँ शैक्षिक सत्रदेखि परिमार्जित पाठ्यक्रम लागू हुने

काठमाडौँ । पाठ्यक्रम विकास केन्द्रले आगामी शैक्षिक सत्र २०८४ देखि लागू हुने गरी प्रारम्भिक बाल विकास तथा शिक्षा तथा आधारभूत तहका केही कक्षाको पाठ्यक्रम परिमार्जन गरेको जनाएको छ।

केन्द्रका अनुसार पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को सिफारिस, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्णय र सम्बन्धित निकायको स्वीकृतिपछि संशोधित पाठ्यक्रम लागू गर्ने तयारी गरिएको हो।

परिमार्जित पाठ्यक्रमअनुसार सामाजिक अध्ययन विषयमा कक्षा ४ देखि १२ सम्मका पाठ्यपुस्तक तथा कक्षा ५, ८, १० र १२ का पाठ्यक्रम अद्यावधिक गरिएको छ। साथै, आधारभूत तहअन्तर्गत कक्षा १ देखि ३ र प्रारम्भिक बाल विकास तथा शिक्षाको पाठ्यक्रम पनि संशोधन गरिएको केन्द्रले जनाएको छ।

केन्द्रले संशोधित पाठ्यक्रम शैक्षिक सत्र २०८४ देखि कार्यान्वयनमा आउने जानकारी दिँदै शिक्षा विकास तथा समन्वय इकाइ, स्थानीय तह तथा सम्बन्धित निकायलाई आवश्यक तयारी र समन्वय गर्न आग्रह गरेको छ।

नयाँ पाठ्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक व्यवस्थापन, समन्वय तथा तयारी सम्बन्धित निकायले समयमै पूरा गर्नुपर्ने केन्द्रले उल्लेख गरेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *