देश

भरतपुर अस्पतालमा बहिरङ्ग सेवा बन्दः एघार हजार बिरामी प्रभावित

चितवन। वीरगञ्जस्थित नारायणी अस्पतालका एक चिकित्सकमाथि भएको आक्रमणको विरोधमा चितवनका प्रमुख अस्पतालहरूले सोमबार बहिरङ्ग (ओपीडी) सेवा बन्द गरेका छन्। सेवा अवरुद्ध हुँदा जिल्लाभर दैनिक उपचारका लागि आउने ११ हजारभन्दा बढी बिरामी प्रभावित भएका छन्।

शनिबार नारायणी अस्पतालमा उपचारका क्रममा वीरगञ्ज महानगरपालिका–२५ का राजकुमार पटेलको मृत्यु भएपछि परिवारजनले चिकित्सकको लापरवाही भएको आरोप लगाउँदै अस्पतालमा कार्यरत मेडिकल अफिसर डा. प्रमोद राममाथि आक्रमण गरेका थिए। आक्रमणबाट डा. राम गम्भीर घाइते भएका छन्।

घटनाको विरोधस्वरूप भरतपुर अस्पताल, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, चितवनका दुई मेडिकल कलेज तथा २३ वटा निजी अस्पतालले आकस्मिक सेवाबाहेकका बहिरङ्ग सेवा स्थगित गरेका हुन्।

भरतपुर अस्पतालमा मात्रै दैनिक करिब ३ हजार ५०० बिरामीले ओपीडी सेवा लिने गरेका छन्। त्यस्तै क्यान्सर अस्पतालमा करिब १ हजार २००, दुई मेडिकल कलेजमा २ हजारभन्दा बढी तथा निजी अस्पतालहरूमा ४ हजारभन्दा बढी बिरामी उपचारका लागि पुग्ने गरेका छन्।

ओपीडी सेवा बन्द भएपछि नियमित उपचारका लागि अस्पताल पुगेका बिरामीहरू समस्यामा परेका छन्। मधुमेह र उच्च रक्तचापको औषधि लिन भरतपुर अस्पताल पुगेकी मायादेवी लम्सालले आन्दोलनका कारण उपचार नै रोकिँदा आफू मर्कामा परेको बताइन्। उपचारका लागि आएका रन्जीत तामाङले पनि सेवा बन्द हुँदा उपचार नपाएको गुनासो गरे।

नेपाल चिकित्सक सङ्घ, चितवनका वरिष्ठ उपाध्यक्ष डा. दीपेन्द्र न्यौपानेले आकस्मिक सेवाबाहेक सबै सेवा बन्द गरिएको जानकारी दिँदै चिकित्सकमाथिको आक्रमण निन्दनीय रहेको बताए। दोषीमाथि कानुनी कारबाही नभएसम्म नियमित सेवा सञ्चालन गर्न कठिन हुने उनको भनाइ छ।

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा भारतको सीमावर्ती क्षेत्रबाट समेत ठूलो सङ्ख्यामा बिरामी उपचारका लागि आउने भएकाले सेवा बन्दको असर व्यापक परेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *