देश

नारायणी अस्पतालमा तोडफोड र स्वास्थ्यकर्मीमाथि आक्रमणप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले वीरगञ्जस्थित नारायणी अस्पतालमा भएको तोडफोड तथा उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीमाथि भएको आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

बिरामीको उपचारका क्रममा स्वास्थ्यकर्मीबाट कुनै त्रुटि भएको आशंका भए त्यसको छानबिन तथा न्यायका लागि प्रचलित कानुनअनुसार प्रक्रिया रहेको उल्लेख गर्दै मन्त्रालयले स्वास्थ्य संस्थामा हुने हिंसात्मक घटनाप्रति शून्य सहनशीलताको नीति दोहोर्‍याएको छ ।

स्वास्थ्य क्षेत्र अत्यन्त संवेदनशील भएकाले सेवाग्राही र सेवा प्रदायक दुवैले यसको संवेदनशीलता बुझ्नुपर्ने मन्त्रालयले जनाएको छ । चिकित्सक तथा स्वास्थ्यकर्मीले निर्भय, सुरक्षित र उच्च मनोबलका साथ सेवा दिन सक्ने वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको पनि मन्त्रालयले स्पष्ट पारेको छ ।

मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई नियमित रूपमा सेवा सञ्चालन गर्न आग्रह गरेको छ । स्थानीय प्रशासनलाई घटनामा संलग्न दोषीको पहिचान गरी कानुनी कारबाही गर्न तथा सर्वसाधारणलाई अस्पतालको संवेदनशीलता बुझेर उपचार सेवा अवरुद्ध नहुने वातावरण बनाउन सहयोग गर्न आग्रह गरिएको छ ।

साथै, सबै पक्षलाई संयमित भई स्वास्थ्य सेवा सुचारु राख्न सहयोग गर्न मन्त्रालयले अनुरोध गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *