चितवन । चितवनमा पछिल्लो एक वर्षको अवधिमा २७४ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ। जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार यस अवधिमा १० हजार ५२३ जनाको परीक्षण गरिएको थियो।
कार्यालयका कीट नियन्त्रक राम केसीका अनुसार सङ्क्रमितमध्ये २१६ जना चितवनका र ५८ जना अन्य जिल्लाका हुन्। चितवनभित्र रत्ननगर नगरपालिकामा सबैभन्दा बढी ८७ जनामा डेङ्गु देखिएको छ।
यस्तै भरतपुर महानगरपालिकामा ५६, खैरहनीमा ३५, राप्तीमा २१, कालिकामा ११, माडीमा तीन र इच्छाकामना गाउँपालिकामा तीन जनामा सङ्क्रमण पुष्टि भएको छ।
गत आर्थिक वर्ष २०८१/८२ मा भने चितवनमा १७ हजार ३५३ जनाको परीक्षण गर्दा तीन हजार ८८९ जनामा डेङ्गु पुष्टि भएको थियो। उक्त अवधिमा डेङ्गुका कारण एक जनाको मृत्युसमेत भएको कार्यालयले जनाएको छ।
जनस्वास्थ्य कार्यालयका अनुसार वर्षायाममा पानी जम्ने वातावरण बन्ने भएकाले भदौ र असोज महिनामा डेङ्गुको जोखिम बढी हुने गर्दछ। डेङ्गु एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने रोग हो, जसले विशेषगरी बिहान र बेलुकीको समयमा टोक्ने गर्छ।
डेङ्गु लागेपछि उच्च ज्वरो, टाउको तथा आँखाको गेडी दुख्ने, शरीर, जोर्नी र मांसपेशी दुख्ने, शरीरमा बिबिरा आउने, वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने तथा नाक वा गिजाबाट रगत बग्ने जस्ता लक्षण देखिन सक्ने चिकित्सकहरूले बताएका छन्।
जनस्वास्थ्य कार्यालयले डेङ्गुबाट बच्न घर तथा वरपर पानी जम्न नदिने, पुराना टायर, खाली डब्बा, ड्रम, गमला, कुलर र खुला पानीका ट्याङ्की नियमित सफा गर्ने तथा लामखुट्टेको टोकाइबाट जोगिने उपाय अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।




