खेलकुद

नेपाल सिधै टी–२० विश्वकपको ग्लोबल छनोटमा, एसिया छनोट खेल्न नपर्ने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले सन् २०२८ को आईसीसी टी–२० विश्वकपका लागि एसिया क्षेत्रीय छनोट खेल्नुपर्ने छैन। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको नयाँ छनोट संरचनाअनुसार नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने अवसर पाएको हो।

आईसीसीका अनुसार सन् २०२६ को टी–२० विश्वकपमा सहभागी भएका तर प्रतियोगितामार्फत स्वतः विश्वकपमा स्थान सुरक्षित गर्न नसकेका टोलीहरूलाई क्षेत्रीय छनोट नखेलाई सिधै ग्लोबल छनोटमा सहभागी गराइने व्यवस्था गरिएको छ।

नेपालले २०२६ को विश्वकपमा समूह चरण पार गर्न नसके पनि सोही व्यवस्थाअनुसार ग्लोबल छनोटमा स्थान सुरक्षित गरेको हो।

नयाँ छनोट प्रणालीअनुसार ग्लोबल छनोटमा विभिन्न क्षेत्रीय प्रतियोगिताबाट आठ टोली पुग्नेछन्। अफ्रिका, एसिया र युरोपबाट दुई–दुई टोली तथा अमेरिका र पूर्वी एसिया–प्रशान्त क्षेत्रबाट एक–एक टोली छनोट भएर आउनेछन्।

ग्लोबल छनोटबाट उत्कृष्ट प्रदर्शन गर्ने सात टोलीले २०२८ को टी–२० विश्वकपमा स्थान बनाउनेछन्। तीमध्ये प्रत्येक क्षेत्रबाट एक–एक उत्कृष्ट टोली र बाँकी तीन उत्कृष्ट टोली विश्वकपका लागि छनोट हुनेछन्। आईसीसीले छनोट प्रक्रियामा न्यूनतम प्रदर्शनसम्बन्धी मापदण्डसमेत लागू गर्ने जनाएको छ।

यसअघि टी–२० विश्वकपका लागि टोलीहरू एसिया, अफ्रिका, युरोप, अमेरिका तथा पूर्वी एसिया–प्रशान्त क्षेत्रीय छनोटबाट छनोट हुँदै आएका थिए। तर आगामी संस्करणका लागि आईसीसीले पुनः ग्लोबल छनोट प्रणाली लागू गर्ने निर्णय गरेको हो।

यसैबीच, आईसीसीले टी–२० विश्वकपको प्रतियोगिता ढाँचामा समेत परिवर्तन गर्ने प्रस्ताव अघि सारेको छ। प्रस्ताव परिषद्बाट पारित भइसके पनि अन्तिम निर्णय आगामी नोभेम्बरमा हुने बैठकपछि सार्वजनिक गरिने जनाइएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *