काठमाडौं । नेपालगञ्ज धारा म्याराथनले प्रतिष्ठित एम्स सोसल अवार्ड–२०२६ प्राप्त गरेसँगै नेपाली खेलकुदले अन्तर्राष्ट्रिय स्तरमा नयाँ पहिचान बनाएको छ। विश्वका १२० देशका खेलकुद संस्थाहरू आबद्ध रहेको एम्सबाट नेपालले पहिलोपटक प्राप्त गरेको यो सम्मानले नेपालगञ्ज धारा म्याराथनलाई मात्र होइन, समग्र नेपाली खेलकुदलाई विश्वमाझ चिनाउन सफल भएको छ।
नेपालगञ्ज धारा म्याराथनका संस्थापक अध्यक्ष टीएस ठकुरीले आफूले यस्तो अन्तर्राष्ट्रिय सम्मान पाउने कल्पना समेत नगरेको बताउँदै यो उपलब्धि व्यक्तिगत नभई सम्पूर्ण नेपालका लागि गौरवको विषय भएको प्रतिक्रिया दिएका छन्।
पत्रकारिताबाट आफ्नो व्यावसायिक यात्रा सुरु गरेका ठकुरीले नेपालगञ्जलाई खेलकुदमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहिचान दिलाउने उद्देश्यले सन् २०१५ मा नेपालगञ्ज धारा म्याराथनको सुरुआत गरेका थिए। पहिलो संस्करणमा ३१५ जना धावक सहभागी भएको प्रतियोगिता अहिले हरेक वर्ष पाँच हजारभन्दा बढी धावक सहभागी हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा रूपान्तरण भइसकेको छ।
प्रतियोगिताको निरन्तरतामा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको ठकुरीले बताए। विशेषगरी केएल दुग्गड ग्रुपले सुरुदेखि नै मुख्य प्रायोजकका रूपमा आर्थिक तथा नैतिक साथ दिएको उनले उल्लेख गरे। यही सहकार्यका कारण प्रतियोगिता ‘नेपालगञ्ज धारा म्याराथन’का रूपमा स्थापित हुन सफल भएको उनको भनाइ छ।
म्याराथनले खेलकुदसँगै सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकता दिँदै स्वस्थ जीवनशैली प्रवर्द्धन, महिला सहभागिता वृद्धि, युवा पुस्तालाई खेलतर्फ आकर्षित गर्ने तथा नेपालगञ्जलाई खेल पर्यटनसँग जोड्ने अभियान सञ्चालन गर्दै आएको छ। यसबाट स्थानीय होटल, यातायात, व्यापार तथा पर्यटन व्यवसायमा समेत सकारात्मक प्रभाव परेको आयोजकको दाबी छ।
ठकुरीका अनुसार कोभिड–१९ महामारीका बेला विश्वभर खेल गतिविधि ठप्प भए पनि स्वास्थ्य मापदण्ड पालना गर्दै सीमित सहभागितामा प्रतियोगिता सञ्चालन गरिएको थियो। कठिन परिस्थितिमा पनि प्रतियोगितालाई निरन्तरता दिन सक्नु नै यसको महत्वपूर्ण उपलब्धिमध्ये एक भएको उनले बताए।
केएल दुग्गड ग्रुपका नेपालगञ्ज प्रमुख कार्यकारी अधिकृत प्रदीप छाजेडले एम्स सोसल अवार्ड–२०२६ सम्पूर्ण नेपालका लागि गर्वको विषय भएको बताए। उनले निजी क्षेत्र र खेलकुदबीचको सहकार्यले अन्तर्राष्ट्रिय सफलता हासिल गर्न सकिने उदाहरण नेपालगञ्ज धारा म्याराथनले प्रस्तुत गरेको उल्लेख गरे।
बाँके जिल्ला फुटबल सङ्घका अध्यक्ष भीमराज शाहीले यो सम्मान नेपालगञ्जको मात्र नभई सम्पूर्ण नेपालको ऐतिहासिक उपलब्धि भएको बताए। यस्तै, खेल पत्रकार प्रकाश तिमिल्सेनाले अन्तर्राष्ट्रिय सम्मानले नेपालको खेलकुदको सम्भावना विश्वसामु उजागर गरेको उल्लेख गर्दै यस्ता अभियानलाई राज्यले नीतिगत र आर्थिक रूपमा थप सहयोग गर्नुपर्ने धारणा राखे।
महिला राष्ट्रिय क्रिकेट टोलीकी पूर्वउपकप्तान तथा सञ्चारकर्मी ममता थापाले यो उपलब्धिले नेपाली खेलाडीलाई विश्वस्तरमा पहिचान बनाउन प्रेरणा मिलेको बताइन्।
खेलकर्मीहरूका अनुसार नेपालगञ्ज धारा म्याराथनले केवल धावन प्रतियोगिता आयोजना गर्ने मात्र नभई खेलमार्फत सामाजिक एकता, स्वस्थ जीवनशैली, पर्यटन प्रवर्द्धन, स्थानीय अर्थतन्त्रको विकास र नेपालगञ्जको अन्तर्राष्ट्रिय पहिचान निर्माणमा उल्लेखनीय योगदान पुर्याएको छ।
एम्स सोसल अवार्ड–२०२६ प्राप्तिसँगै नेपालगञ्ज धारा म्याराथनले नेपाली खेलकुदको प्रतिष्ठा अन्तर्राष्ट्रिय स्तरमा अझ उचाल्दै आगामी दिनमा खेल पर्यटन, म्याराथन संस्कृति र अन्तर्राष्ट्रिय खेल सहकार्य विस्तार गर्ने नयाँ आधार तयार गरेको विश्वास व्यक्त गरिएको छ।




