खेलकुद

अस्ट्रेलियामाथि पेनाल्टीमा विजयी हुँदै इजिप्ट अन्तिम १६ मा

काठमाडौं । इजिप्टले फिफा विश्वकपको इतिहासमा पहिलो पटक नकआउट चरणको खेल जित्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ।

डालसमा सम्पन्न अन्तिम ३२ को खेलमा इजिप्टले अस्ट्रेलियालाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गरेको हो। निर्धारित र अतिरिक्त समय १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो।

इजिप्टले खेलको १३औँ मिनेटमा इमाम आशुरको हेडमार्फत गोल गर्दै अग्रता लिएको थियो। करिम हाफेजको क्रसलाई सदुपयोग गर्दै आशुरले जारी विश्वकपमा आफ्नो दोस्रो गोल गरेका हुन्।

दोस्रो हाफमा अस्ट्रेलियाले खेलमा फर्कियो। ५५औँ मिनेटमा एडन ओ’निलको फ्रिकिक क्लियर गर्ने क्रममा इजिप्टका मोहम्मद हानीबाट आत्मघाती गोल भएपछि खेल १–१ को बराबरीमा पुगेको थियो। जारी प्रतियोगितामा हानीको यो दोस्रो आत्मघाती गोल हो।

त्यसपछि दुवै टोलीले गोलका अवसर सिर्जना गरे पनि सफल हुन सकेनन्। खेलको अन्तिम समयमा कप्तान मोहम्मद सलाहको क्रसमा रामी राबियाको हेडरलाई अस्ट्रेलियाका गोलरक्षक प्याट्रिक बीचले उत्कृष्ट बचाउ गरेका थिए।

पेनाल्टी सुटआउटअघि अस्ट्रेलियाका प्रशिक्षक टोनी पोपोभिचले रणनीतिक परिवर्तन गर्दै प्याट्रिक बीचको स्थानमा अनुभवी गोलरक्षक म्याट रायनलाई मैदानमा उतारेका थिए। तर इजिप्टका सबै पेनाल्टी प्रहार सफल भए। अस्ट्रेलियाका ह्यारी सुट्टार र लुकास हेरिङ्टन पेनाल्टीमा चुकेपछि होसाम अब्देलमागुइदले निर्णायक पेनाल्टी गोल गर्दै इजिप्टको जित सुनिश्चित गरे।

होसाम हसनको प्रशिक्षणमा रहेको इजिप्ट जारी प्रतियोगितामा अपराजित रहेको छ। अब इजिप्टले अन्तिम १६ मा साविक विजेता अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्नेछ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *