काठमाडौँ । सह–आयोजक मेक्सिको जारी फिफा विश्वकपमा नकआउट चरणमा पुग्ने पहिलो राष्ट्र बनेको छ । दक्षिण कोरियामाथि १–० को जित निकाल्दै मेक्सिकोले अन्तिम–१६ मा स्थान सुरक्षित गरेको हो ।
मेक्सिकोका मिडफिल्डर लुइस रोमोले ५०औँ मिनेटमा गरेको प्रहार निर्णायक गोल बन्यो । उक्त अवसरमा दक्षिण कोरियाका गोलकिपर किम सुङ ग्यु आफ्नै सहकर्मी ली गि ह्युकसँग ठोक्किएपछि बल नियन्त्रण गर्न नसक्दा गोल सम्भव भएको हो ।
दक्षिण कोरियाले ८७औँ मिनेटमा खेलमा फर्किने राम्रो अवसर पाए पनि चो गुए सुङको हेडरलाई मेक्सिकोका गोलकिपर राउल राङ्गेलले उत्कृष्ट बचाउ गरे । त्यसपछि आएको रिबाउन्ड प्रहार पनि उनले रोकिदिए ।
यसअघि कप्तान सोन ह्युङ मिनले पनि गोलको प्रयास गरेका थिए, तर मेक्सिकोका एडसन अल्भारेजले गोललाइनमा बचाउ गरे । यद्यपि उक्त अवस्थामा उनी अफसाइडमा रहेका थिए ।
पहिलो हाफमा कमजोर प्रदर्शनपछि घरेलु दर्शकले टोलीलाई हुटिङ गरेका थिए । दोस्रो हाफमा मेक्सिकोले खेलमा सुधार गर्दै थप अवसर सिर्जना गर्यो । ७५औँ मिनेटमा राउल हिमेनेजको प्रहार पनि कोरियाली गोलकिपरले बचाए भने ओबेद वर्गासको शक्तिशाली प्रहार पनि सफल हुन सकेन ।
जितसँगै मेक्सिकोले लगातार जितको यात्रा कायम राख्दै समूह ‘ए’ को शीर्ष स्थानमा पुग्ने सम्भावना बलियो बनाएको छ । अब उसले चेक गणतन्त्रसँगको अन्तिम खेलमा बराबरी खेले पनि नकआउट चरण पुग्नेछ । समूह विजेता बने मेक्सिकोले नकआउट चरणका खेल मेक्सिको सिटीमा खेल्नेछ ।
हारका बाबजुद दक्षिण कोरियाको नकआउट चरण प्रवेशको सम्भावना भने कायम रहेको छ । अब उसले दक्षिण अफ्रिकासँग निर्णायक खेल खेल्नेछ ।




