गण्डकी प्रदेश

पोखरामा २७ औँ पोखरा सडक महोत्सव पुस १३ देखि

धरान । पोखराको लेकसाइड क्षेत्रमा आगामी पुस १३ देखि १७ गतेसम्म २७औँ संस्करणको पोखरा सडक महोत्सव आयोजना हुने भएको छ ।

आगामी जनवरी १ तारिखमा रेष्टुराँ एण्ड बार एसोसिएसन नेपाल (रेवान) पोखराको आयोजनामा फेवाताल किनारको लेकसाइड क्षेत्रमा करिब तीन दशमलव पाँच किलोमिटर क्षेत्रमा महोत्सव सञ्चालन गरिने आयोजकले आज इटहरीमा पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।

रेवान पोखराका संयोजक वसन्त गौतमका अनुसार ‘सडकमै खाऔँ, सडकमै नाचौँ, सडकमै रमाऔँ’ भन्ने मूल नाराका साथ आयोजना हुँदै आएको महोत्सवले खाना, संस्कृति र सङ्गीतको प्रवद्र्धनका साथै पोखराको पर्यटन विकासमा महत्त्वपूर्ण योगदान पु¥याउँदै आएको छ ।

एक समय अङ्ग्रेजी नयाँ वर्ष मनाउन नेपाली पर्यटक भारतको गोवा र थाइल्याण्ड जाने प्रचलन रहेकामा पोखरा सडक महोत्सवले ‘अङ्ग्रेजी नयाँ वर्षको प्रमुख गन्तव्य’का रूपमा पोखरालाई स्थापित गर्न सफल भएको उनले बताए । “हाल यो महोत्सव पोखराको पहिचान र पर्यटन प्रवद्र्धनका क्षेत्रमा ‘ब्रान्ड’का रूपमा अघि बढिरहेको छ”, उनले भने ।

विसं २०७२ को विनाशकारी भूकम्प, कोभिड–१९ महामारी तथा पछिल्ला विभिन्न आन्दोलनजस्ता चुनौतीका बाबजुत पनि महोत्सव निरन्तर आयोजना हुँदै आएको संयोजक गौतमले बताए । उनले प्रत्येक सङ्कटपछि सुस्ताएको पर्यटन क्षेत्रलाई पुनःरुत्थान गर्न तथा ‘पोखरा सुरक्षित र खुला छ’ भन्ने सन्देश विश्वसामु प्रवाह गर्न महोत्सवले महत्त्वपूर्ण भूमिका खेल्दै आएको धारणा राखे ।

पोखरा भ्रमण वर्ष २०२५ का संयोजक गोपी भट्टराईले महोत्सवले जाडोयाममा सुस्ताउने पर्यटन व्यवसायलाई चलायमान बनाउँदै स्थानीय कृषिउपज, हस्तकला तथा घरेलु सामग्रीको प्रवद्र्धन र बजारीकरणमा टेवा पु¥याउने विश्वास व्यक्त गरे । क्रिसमस र नयाँ वर्षको अवसरमा विदेशी पर्यटकलाई नेपालमै आकर्षित गरी विदेशी मुद्रा आर्जनमा सहयोग पुग्ने उनको भनाइ छ ।

यस वर्ष पोखरा महानगरपालिकाद्वारा घोषणा गरिएको ‘पोखरा भ्रमण वर्ष २०२५’सँग सहकार्य गर्दै महोत्सव आयोजना हुन लागेको आयोजकले जनाएको छ ।

महोत्सवका प्रमुख आकर्षणमा नेपालका विभिन्न जातजातिका सांस्कृतिक झाँकी र नृत्य, राष्ट्रिय तथा अन्तरराष्ट्रिय परिकारसहितका खानाको फुड फेस्टिभल (खाना महोत्सव), ख्यातिप्राप्त कलाकारद्वारा कला प्रस्तुत, लोकदोहोरी, फेवातालमा ‘बोट रेस’, ‘वेटर रेस’, रस्साकस्सी, पर्यटनसम्बन्धी ‘टक सो’, वृत्तचित्र तथा फोटो प्रदर्शनी रहेका संयोजक गौतमले जानकारी दिए ।

महोत्सवको मुख्य प्रायोजक गोर्खा ब्रुअरी प्रालि रहेको छ भने सहप्रायोजकमा बोटलर्स नेपाल (तराई) लिमिटेड, दि नेपाल डिस्टिलरी प्रालि, यति डिस्टिलरी प्रालि र नेपाल टेलिकम रहेका छन् । बैंकिङ पार्टनरमा सिद्धार्थ बैंक रहेको आयोजकले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *