टक्सार (भोजपुर)। जनशक्ति अभावका कारण भोजपुर अस्पतालका विद्यमान उपकरण तथा सेवा पूर्णरूपमा प्रयोगमा आउन नसकेको बताइएको छ। सदरमुकाममा रहेको एकमात्र सरकारी अस्पतालमा संघीय सरकारले करिब रु दुई करोड लागतमा सघन उपचार कक्ष (आइसियू) निर्माण गरेको भए पनि पाँच वर्षदेखि सञ्चालनमा आउन सकेको छैन।
अस्पतालका प्रमुख डा. पवित्रा श्रेष्ठका अनुसार आवश्यक जनशक्ति अभावका कारण आइसियू सञ्चालन असम्भव बनेको हो। उनले भनिन्, “पाँच वर्ष अगाडि नै आइसियू तयार भए पनि जनशक्ति नभएकाले सञ्चालन गर्न सकिएको छैन। करारमा पनि कर्मचारी राख्न सकिएको छैन।”
नागरिक समाजका संयोजक पर्शुराम तिवारीले दुर्गम क्षेत्रका अस्पतालमा जनशक्ति व्यवस्थापन गर्न सरकार असफल हुँदा स्वास्थ्य सेवा प्रभावित भएको टिप्पणी गरे। “प्रविधि र उपकरण भए पनि प्रयोगमा ल्याउन नसक्नु समस्या हो। भोजपुर अस्पताल त्यसकै उदाहरण हो,” उनले भने।
जिल्ला अस्पताल भौतिक रूपमा सुविधा सम्पन्न बन्दै गए तापनि चिकित्सक तथा प्राविधिक कर्मचारी अभावका कारण स्थानीयले अझै पनि धरान, विराटनगर, काठमाडौँजस्ता ठूला शहरका अस्पतालमा उपचारका लागि समय र खर्च व्यहोर्नुपर्ने बाध्यता कायम छ।




