काठमाडौं । स्वतन्त्र सांसद महावीर पुनले प्रधानमन्त्री बालेन्द्र शाह संसदमा उपस्थित नभएको विषय अन्तर्राष्ट्रिय स्तरसम्म पुग्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्। बिहीबार प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा बोल्दै उनले प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराउने प्रयास भइरहेको भए पनि उहाँ आउन इच्छुक नदेखिएको टिप्पणी गरे।
उनले यो विषयलाई देशभित्रकै राजनीतिक बहसमा सीमित राख्नुपर्ने संकेत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा पुगे त्यसले नेपालको छविमाथि असर पार्न सक्ने बताएका हुन्। “हामी उहाँलाई सदनमा ल्याउने प्रयास गरिरहेका छौँ, उहाँ भने नआउनेतर्फ हुनुहुन्छ,” उनले भने, “यदि यो विषय अन्तर्राष्ट्रिय मिडियामा गयो भने त्यसको प्रभाव कस्तो पर्ला ?”
सांसद पुनले प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा पाएको चर्चाको सन्दर्भ उल्लेख गर्दै त्यसले देशको प्रतिष्ठामा असर पार्न सक्ने चिन्ता व्यक्त गरे। उनले प्रधानमन्त्रीको सार्वजनिक छवि र राजनीतिक व्यवहारबीच सन्तुलन आवश्यक रहेको धारणा राखे। त्यसक्रममा उनले बुधबार सदन अवरुद्ध हुँदा आफूले तयारी गरेको धारणा प्रस्तुत गर्न नपाएको भन्दै व्यंग्यसमेत गरे। “हिजो बोल्न पाइएन, आज अवसर मिल्यो,” उनले टिप्पणी गरे।




