कञ्चनपुर। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लामा तीन हजार १२५ नयाँ मतदाता थपिएका छन्। जिल्ला निर्वाचन कार्यालयका अनुसार शनिबारसम्म थपिएका मध्ये पुरुष एक हजार ६८९ र महिला एक हजार ४३६ छन्। बाह्य जिल्लाबाट नाम दर्ता गराएका पुरुष एक सय ३७ र महिला ९१ जना रहेका छन्।
नयाँ मतदाता समेटिनुअघि जिल्लामा कुल मतदाता तीन लाख तीन हजार ८७ जना थिए। तीमध्ये पुरुष एक लाख ४७ हजार २८३, महिला एक लाख ५५ हजार ८०३ र अन्य एक जना रहेका थिए।
निर्वाचन कार्यालयले असोजदेखि मतदाता नामावली सङ्कलन गरिरहेको छ। कात्तिक मसान्तसम्मको म्यादलाई निर्वाचन आयोगले सहभागिता बढेको बताउँदै मङ्सिर ५ गतेसम्मका लागि थप गरेको हो। राष्ट्रिय परिचयपत्र वा प्रि–रजिष्ट्रेसन सिस्टम प्रयोग गरी कार्यालयमा फोटो र औँठाछाप दिएर नाम दर्ता गराउन सकिन्छ।
जिल्लामा अहिले एक सय ३२ मतदानस्थल र तीन सय ४६ मतदान केन्द्र छन्। पुनरावलोकनका लागि समय अभाव भएकाले थप हुने सम्भावना नरहे पनि कृष्णपुर–५ र ८ का दुई मतदानस्थल भने सारिएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी भानबहादुर महराले बताए। उनका अनुसार वडा नं ५ को नगरपालिका भवनमा रहेको मतदानस्थल कञ्चन बहुमुखी क्याम्पसमा तथा वडा नं ८ को स्वास्थ्यचौकी भवनमा रहेको मतदानस्थल विणा माध्यमिक विद्यालयमा सारिएको छ।
सूचना अधिकारी महराका अनुसार सबै मतदानस्थल र केन्द्रलाई अपाङ्ग, महिला र ज्येष्ठ नागरिकमैत्री बनाउने तयारी भइरहेको छ।



