कर्णाली प्रदेश

हुम्ला अदानचुलीमा विद्यालयमा आगालागी, दुई करोडभन्दा बढी क्षति

अदानचुली (हुम्ला)। हुम्लाको अदानचुली गाउँपालिकास्थित छत्रपाल आधारभूत विद्यालयमा गएराति आगालागी हुँदा दुईतले भवन पूर्ण रूपमा जलेर नष्ट भएको छ। आगालागी माथिल्लो तलाको झ्यालबाट सुरु भएको बताइएको छ।

विद्यालयका शिक्षक नन्द फडेराका अनुसार आगोले मुख्य प्रवेशद्वार, कक्षा कोठा र कार्यालय कोठासमेत जलेर नष्ट भएको छ। कार्यालय कोठामा रहेको सोलार एक थान, ल्यापटप दुई थान, कम्प्युटर दुई थान, दराज चार थान, कुर्ची २०, मादल तीन, हार्मोनियम, क्यासियो, ड्रमसेट, र २०५२ सालदेखि भएका कागजात तथा दस्तावेज जलेर नष्ट भएको छ। साथै कक्षा कोठाका डेस्कबेञ्च र प्रिन्टर पनि क्षति भएका छन्।

शिक्षकको अनुमान अनुसार, भौतिक संरचना र सामग्रीसहित करिब रु दुई करोड बराबरको क्षति भएको छ।

विद्यालय नजिक कुनै घर वा बस्ती नहुँदा आगो नियोजित रूपमा लगाइएको हुनसक्ने आशङ्का गरिएको छ। आगलागीको समयमा कार्यालय कोठाको ढोका खुला रहेको पाइएपछि विद्यालयका शिक्षक जमानसिंह परियारले यस्तो अनुमान गरेका छन्।

विद्यालयमा कक्षा १ देखि ८ सम्म अध्ययन हुने गर्दछ। हाल सुरक्षा निकायले घटनाको अनुसन्धान सुरु गरेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *