कास्की। सूर्य भगवानको आराधना गरी मनाइने छठपर्व पोखरामा पनि धूमधामका साथ मनाइने तयारी गरिएको छ। पोखरामै बसोबास गरिरहेका तराई–मधेश समुदायका श्रद्धालुका लागि चार स्थानमा सामूहिक छठपूजाको व्यवस्था गरिएको छ।
छठपूजाका लागि पोखराको फेवाताल किनारमा रहेको केदारेश्वर महादेवमणि मन्दिर परिसर, नारायणस्थान मन्दिर, सेतीगण्डकी र कालीखोलाको सङ्गमस्थल, र कमलपोखरीलाई विशेष रूपमा सजाइएको छ। पूजा स्थल वरपर सरसफाइ र व्यवस्थापनका काम पूरा भएको नारायणस्थान मन्दिर पूजा समितिका उपाध्यक्ष विनोद गुप्ताले जानकारी दिए। चारै स्थानमा पूजा समितिहरू गठन गरी सामूहिक पूजाको तयारी गरिएको छ।
गुप्ताका अनुसार पोखरामै पूजा गर्नुपर्ने बाध्यता भएका श्रद्धालुका लागि सहज वातावरण बनाउन समितिले सरसफाइदेखि आन्तरिक व्यवस्थापनसम्म तयारी गरेको छ। “फेवाताल किनारका साथै अन्य स्थलहरूमा पनि रंगीन बत्ती र माला सजावट गरिएको छ,” उनले भने।
छठपर्व अन्तर्गत आज साँझ अस्ताउँदो सूर्यलाई र मङ्सिर ११ गते बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिई पूजा सम्पन्न गरिनेछ। श्रद्धालुका लागि पूजा स्थलमा बस्ने व्यवस्था, टेन्ट र फूलमालाको सजावट गरिएको उपाध्यक्ष गुप्ताले बताए।
भद्रकाली छठपूजा समितिका अध्यक्ष तारानन्द शर्माका अनुसार भक्तजनहरूले पञ्चमीका दिन व्रत बस्ने (खड्ना) र राति पूजा गर्ने परम्परा छ। केराको खम्बा, उखु, भोगटे, सुन्तला, अदुवा लगायतका फलफूल र बोटहरूबाट मण्डप सजाइने र सूर्यदेवलाई आराधना गरी मनोकामना पूर्तिको कामना गर्ने परम्परा रहेको उनले बताए।
पोखरामा यस वर्ष करिब १० हजार श्रद्धालुले छठपर्व मनाउने अनुमान गरिएको छ। पछिल्ला वर्षमा तराईसँगै पहाडी समुदायमा पनि छठ मनाउने परम्परा विस्तार हुँदै गएको छ।



