जलश्रोत/उर्जा

बक्यौता नतिर्ने उद्योगको लाइन आजैबाट काटिने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइनमार्फत बिजुली उपभोग गरेर पनि बक्यौता रकम नतिरेका उद्योगहरूको लाइन आज (आइतबार) काट्ने भएको छ ।

प्राधिकरणले बक्यौता तिर्न दिएको अन्तिम म्याद आज राति सकिँदै छ । कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार म्याद सकिएपछि बक्यौता नबुझाउने उद्योगहरूको जुनसुकै बेला लाइन काटिनेछ । प्राधिकरणले कात्तिक २ गतेसम्म बक्यौता तिर्न समय दिएको थियो, तर हालसम्म केवल ९ उद्योग मात्र सम्पर्कमा आएका छन् ।

बाँकी उद्योगहरूले अटेर गरेका कारण लाइन काट्ने तयारी भएको सिलवालले जानकारी गराएका हुन् । सिलवालका अनुसार , म्याद सकिनासाथ बक्यौता नतिर्ने उद्योगहरूको बिजुली आपूर्ति बन्द हुनेछ । हाल ३१ ठुला उद्योगले बक्यौता रकम नतिरेको प्राधिकरणको भनाइ छ। उद्योगीहरूले प्रमाणबिना रकम तिर्न नसक्ने भन्दै ऊर्जामन्त्री कुलमान घिसिङसँग म्याद थप, २५ प्रतिशत जरिवाना छुट र किस्ता अवधि बढाउन माग गरेका थिए ।

तर, मन्त्री घिसिङले जरिवाना छुट र म्याद थप गर्न नसकिने स्पष्ट पारेका छन् । यो कदमले उद्योगहरूलाई बक्यौता तिर्न दबाब बढ्ने देखिन्छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *