राजनीति

निर्वाचन गर्न सरकारसँग जोस र जाँगर छैन : कांग्रेस नेता विश्वकर्मा

काठमाडौँ । नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले सरकारले आगामी निर्वाचन गराउने जोस, जाँगर र तयारी देखाउन नसकेको टिप्पणी गरेका छन्।

बिहीबार निर्वाचन आयोगले राजनीतिक दलहरूसँग गरेको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सरकार निर्वाचनका लागि आवश्यक वातावरण बनाउन असफल भएको आरोप लगाए।

उनका अनुसार निर्वाचन आयोग र राष्ट्रपतिले दलहरूलाई बोलाएर परामर्श गरे पनि सरकारले शान्ति, सुरक्षा र निष्पक्ष वातावरण निर्माणमा पर्याप्त चासो देखाएको छैन।

विश्वकर्माले भने, “सरकार एकातिर निर्वाचन गर्नका लागि बनेको छ, तर निर्वाचन गर्ने कुनै जोस, जाँगर र चाल देखिँदैन। आयोग र राष्ट्रपति दुवै संस्थाले दलहरूलाई बोलाएर निर्वाचनको तयारीबारे छलफल गरे पनि सरकारको काम–कारबाही त्यसअनुरूप छैन।”

उनले मुख्य दलहरू निर्वाचनमा भाग लिन तयार रहेको स्पष्ट पारे पनि राजनीतिक र कानुनी विवाद समाधान हुनुपर्नेमा जोड दिए। “सरकार गठन र प्रतिनिधिसभा विघटन असंवैधानिक भएको मुद्दा सर्वोच्चमा विचाराधीन छ। त्यसको निर्णयपछि मात्रै राजनीतिक स्पष्टता आउनेछ,” उनले भने।

संविधानलाई मूल बाटोमा फर्काउने एकमात्र उपाय निर्वाचन भएको बताउँदै उनले निष्पक्ष, भयरहित र विश्वासिलो वातावरण सिर्जना गर्न सरकार असफल देखिएको टिप्पणी गरे।

विश्वकर्माका अनुसार सरकारले शान्ति, सुरक्षा र निष्पक्षता कायम गर्न ठोस कदम चाल्न नसक्दा निर्वाचनको विश्वासिलो तयारी प्रश्नमा परेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *