सिरहा। लहान मुटु अस्पतालले सेवा विस्तार गर्दै मुटुरोगसम्बन्धी अत्याधुनिक परीक्षण सेवा सुरु गरेको छ। लहान नगरपालिका–४, चम्पापुरस्थित निर्माणाधीन अस्पतालले अबदेखि ‘इकोकार्डियोग्राफी’, ‘ट्रेडमिल टेस्ट’ र ‘होल्टर मोनिटर टेस्ट’ सेवा सञ्चालनमा ल्याएको छ।
शुक्रबारदेखि औपचारिक रूपमा २५ श्ययाको सेवा पनि सुरु गरिएको अस्पतालका कार्यकारी निर्देशक डा. सञ्जयप्रसाद साहले जानकारी दिए। छ महिनाअघि सुरु गरिएको ओपिडी सेवामार्फत हालसम्म तीन हजारभन्दा बढी बिरामीले उपचार लिइसकेका छन्। अत्याधुनिक प्रयोगशालासहित न्यूनतम शुल्कमा सेवा उपलब्ध गराइरहेको अस्पताल नाफाभन्दा बढी सेवा–केन्द्रित मोडेलमा सञ्चालन भइरहेको जनाइएको छ।
हाल अस्पतालले लहान नगरपालिकाले उपलब्ध गराएको ११ बिघा जग्गामा दुई भवनमार्फत सेवा दिइरहेको छ। डा. साहका अनुसार, भविष्यमा ५०० श्ययाको पूर्ण अस्पताल निर्माण गर्ने योजना रहेको छ र यसको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) समेत तयार भइसकेको छ।
एक वर्षभित्र आइसियु र सिटी स्क्यान सेवा सुरु गर्ने तयारी भइरहेको छ। साथै अस्पताललाई सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रकै स्वरूपमा कार्डियो–डायबेटिक सेन्टरका रूपमा विस्तार गर्ने योजना रहेको छ।
नेपाल हृदय रोग निवारण सङ्घअन्तर्गत डा. बालकृष्ण ओग्र्यानको पहलमा स्थापना भएको यस अस्पताल निर्माणमा जर्मनीस्थित ‘नेपाल मेड ई. भि.’ र ‘रोटरी क्लब कटबस’ले करिब रु दुई अर्ब बराबरको सहयोग प्रदान गरेका छन्।
“गुणस्तरीय सेवा दिइँदै आएको छ तर अस्पतालको भविष्य उज्ज्वल बनाउन प्रचारप्रसार, स्थानीयको साथ, सहयोग र विश्वास अपरिहार्य छ,” अस्पताल प्रशासन तथा वित्त शाखा प्रमुख रिना चौधरीले भनिन्।




