काभ्रेपलाञ्चोक। स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत काभ्रेपलाञ्चोकको पाँचखाल नगर अस्पतालले शुक्रबारदेखि प्रथम सेवा सुरु गरेको छ । यससँगै जिल्लामा स्वास्थ्य बीमाको प्रथम सेवा विन्दु सञ्चालन गर्ने सरकारी स्वास्थ्य संस्था आठ पुगेका छन् ।
हाल बनेपा नगरपालिकाको बनेपा आधारभूत अस्पताल, मण्डनदेउपुर नगरको आधारभूत अस्पताल, सुन्थान, खोपासी, पाँचखाल र धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्र तथा मेथिनकोट प्रादेशिक अस्पतालमार्फत पनि सेवा प्रवाह भइरहेको छ ।
नगरप्रमुख महेश खरेलका अनुसार जनशक्ति अभावकै कारण पहिले सुरु गर्न नसकेको पाँचखाल नगर अस्पतालले आवश्यक व्यवस्थापन पूरा गरी अब नियमित र सहज ढङ्गले सेवा दिने तयारी गरेको छ ।
यस्तै, धुलिखेल नगरले प्राथमिक स्वास्थ्य केन्द्रको सेवा गत साउन २६ गतेदेखि धुलिखेल अस्पतालको परिसरबाट सञ्चालनमा ल्याएको छ । भौतिक संरचना र जनशक्ति अभावका कारण रोकिएको सेवा धुलिखेल अस्पतालकै सहयोगमा चिकित्सक, नर्स र औषधिसहित पुनः सुरु गरिएको हो ।
गत साउन १ गतेदेखि सरकारले सरकारी स्वास्थ्य संस्थालाई मात्र स्वास्थ्य बीमाको प्रथम सेवा विन्दु बनाउने नियम लागू गरेको हो । प्रारम्भिक चरणमा काभ्रेपलाञ्चोकका मेथिनकोट अस्पताल, सुन्थान र खोपासी मात्र सेवा दिइरहेका थिए ।




