देश

पहिरोले भवन बगाएपछि विद्यालय स्थानान्तरण

म्याग्दी । पहिरोले कक्षाकोठा भवन, शौचालय, खेलमैदानलगायत सबै संरचना बगाएपछि म्याग्दीको मालिका गाउँपालिका–४ मा रहेको ओखरबोट माध्यमिक विद्यालय स्थानान्तरण भएको छ ।

ओखरबोटको फेदीमा रहेको पाखोबाट सुरु भएको पहिरोले पुरानो भवनसहित भौतिक संरचना बगाएपछि किमबोटमा अस्थायी भवन निर्माण गरी पठनपाठन सञ्चालन गरिएको हो ।

आर्थिक वर्ष २०८१/८२ मा मालिका गाउँपालिकाको २० लाख रुपैयाँ अनुदानमा १३ कोठे कच्ची भवन बनाएर स्थानान्तरण गरिएको मालिका–४ का वडाध्यक्ष भिजेन्द्रमान पुनले बताए। “विद्यालयको थप पूर्वाधारका लागि यस वर्ष १० लाख रुपैयाँ विनियोजन भएको छ”, उनले भने, “पहिरो रोकथामका लागि सङ्घीय र प्रदेश सरकारसँग पहल गरेका छौँ ।” ४/४ कोठे २ वटा पक्की भवनमुनिको जमिन चर्कीएपछि ढल्ने अवस्थामा रहेका उनले जानकारी दिए।

ढङ्गा, माटो र काठले बनेको १७ कोठे कच्ची भवन, शौचालय, घेराबार र खेलमैदान पहिरोसँगै बगेको छ । भिरालो पाखोमा रहेको विद्यालय भवनमाथि रहेको सडकको भल, भूमिगत पानी, कमजोर भूगोल र तल रहेको दाजुङखोलाको कटानका कारण पहिरो गएको स्थानीय बताउँछन् ।

पहिरोले ३ करोड रुपैयाँ भन्दा बढीको भौतिक संरचनामा क्षति पुर्‍याएको विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष पबहादुर विश्वकर्माले बताए। “किमबोटको अस्थायी भवन परिसरमा घेराबार, ढल व्यवस्थापन र संरक्षणका लागि स्रोतको खोजीमा छौँ”, उनले भने, “पुरानो भवनको ढुङ्गा र फर्निचर प्रयोग गरेर अस्थायी भवन बनाएका हौँ ।”

विद्यालयका प्रधानाध्यापक नविन कार्कीका अनुसार विसं २००८ मा स्थापना भएको कक्षा १० सम्म पठनपाठन हुने विद्यालयमा हाल २०० विद्यार्थी अध्ययनरत छन् । “कच्ची भवनको एउटा कोठामा पढाएको अर्को कोठामा सुनिन्छ । कोठा विभाजन, पलास्टर र रङरोगन तथा घेराबार गर्न बाँकी छ”, उनले भने ।

ओखरबोट गाउँभित्र भवन बनाउन विसं २०८० मङ्सिरमा अमिक शेरचनका १० दाजुभाईले ९ रोपनी ३ आना ३ दाम २ पैसा क्षेत्रफल भएको जग्गा उपलब्ध गराएका थिए । पूर्वउपप्रधानमन्त्री रहेका शेरचनका दाजुभाईले सरकारीको मापदण्ड अनुसार ४४ लाख ७७ हजार रुपैयाँ मूल्य पर्ने उक्त जग्गा निशुल्क रूपमा उपलब्ध गराएपनि नाम राख्ने विषयमा विवाद देखिएको थियो ।

वडा सदस्य भिमसरा पुनले जग्गादाताले विद्यालयको नाम परिवर्तन गर्न प्रस्ताव गरे पनि गाउँपालिका तहमा सहमति नजुटेकाले उक्त जग्गामा भवन निर्माण प्रक्रिया अघि बढ्न नसकेको बताए।

पहिरोले क्षति गरेको विद्यालयको बुधबार निरीक्षण गर्नुभएका गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले तत्कालीन रूपमा अस्थायी कक्षाकोठा व्यवस्थापन गर्न सरकारसँग समन्वय गर्ने प्रतिवद्धता जनाए।

जग्गादाता र गाउँपालिका तथा समुदायले विद्यालयको नामसम्बन्धी विषयलाई टुङ्गो लगाउन आग्रह गर्दै उहाँले थप पूर्वाधार निर्माणका लागि प्रदेश र सङ्घीय सरकारका निकायमा पहल गर्ने बताए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *