काठमाडौँ । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले शपथ लिएका छन् । बानियाँलाई प्रदेश प्रमुख दिपक प्रसाद देवकोटाले पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।मुख्यमन्त्री बानियाँसँगै ८ मन्त्रीले पनि पद तथा गोपनियताको शपथ लिएका छन् ।
बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले मुख्यमन्त्री बानियाँ सहित कांग्रेसका शिवराज अधिकारी र कृष्णकुमार तामाङले सपथ खाएका हुन्। अधिकारीको लागि मन्त्रालय तोकेको छैन भने तामाङका लागि खानेपानी उर्जा तथा सिचाई मन्त्रालयको जिम्मेवारी दिएको छ। एमालेका ६ जनाले मन्त्री पदको शपथ लिएका छन् ।

एमालेले आफ्नो भागमा परेका ६ जना मन्त्री मधे ५ जना नयाँ अनुहार छानेको छ भने एक जनालाई दोहोराएको छ । दोहोरिनेमा स्वास्थ्यमन्त्री किरण थापा रहेका छन् । त्यस्तै मधुशोधन पौडेलले कृषि मन्त्रालय, भरत केशीले वन मन्त्रालय, जयराम थापाले श्रम, रोजगार तथा यातायात मन्त्रालय, बिन्दु श्रेष्ठले उद्योग मन्त्रालय र डा. दिनेशचन्द्र देवकोटाले भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
१४ मन्त्रालय रहेका बागमतीमा एमालेको भागमा ६ र कांग्रेसको भागमा मुख्यमन्त्री सहित ७ मन्त्री पाउनेछन्। कांग्रेसले ५ मन्त्री भने नियुक्त गरेको छैन। केही दिनमा मन्त्री नियुक्त गर्ने बताइएको छ।
नेपाली कांग्रेस बागमती प्रदेश समिति सभापतिसमेत रहेका बानियाँले मुख्यमन्त्री समक्ष हिजो सोमबार नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त सरकार निर्माणका लागि दाबी पेश गरेका थिए ।
उनलाई ११० सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेस र नेकपा एमाले गरी कुल ६४ जना सांसदको समर्थन छ ।




