जलश्रोत/उर्जा

तनहुँ जलविद्युत् आयोजनामा पानीको सतहबारे सूचना दिने सेन्सर जडान

दमौली (तनहुँ)।तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनास्थलमा सेती नदीको पानीको सतहबारे सूचना दिने सेन्सर जडान गरिएको छ।

आयोजनाले आपत्कालीन पूर्वतयारीका लागि नदीमा पानीको सतह मापन, अस्थायी बाँधको सुरक्षा निगरानी तथा प्रभावकारी सूचना प्रवाहको उद्देश्यले आधुनिक सेन्सर जडान गरेको हो। आयोजनाका प्रमुख श्यामजी भण्डारीका अनुसार यो प्रविधिले मनसुनका बेला बाढीको जोखिम न्यूनीकरण गर्न सघाउ पुर्‍याउनेछ।

“पानीको सतहसम्बन्धी जानकारी ‘मल्टिस्क्रिन डिस्प्ले बोर्ड’ मा तत्कालै देखिने भएकाले महत्त्वपूर्ण सूचना समयमै प्रवाह गर्न सहयोग पुग्नेछ,” भण्डारीले बताए। रातको समयमा भौगोलिक रूपमा दुर्गम अस्थायी बाँध क्षेत्रमा पुग्न कठिन हुने भएकाले प्रविधिको प्रयोगले विपद् न्यूनीकरणमा योगदान पुग्ने विश्वास उनले व्यक्त गरे।

तल्लो तटीय क्षेत्रका बासिन्दालाई बाढीको खताबारे सतर्क गराउन आयोजनाले मोबाइल सेवा प्रदायकसँगको सहकार्यमा सतर्कता सन्देश पठाउने व्यवस्था मिलाएको छ। बाढीका सम्भावित जोखिमबारे पूर्वसूचना दिन समुदायका मोबाइल नम्बर संकलन गरिएको आयोजनाले जनाएको छ।

भण्डारीले भने, “तल्लो तटीय बस्तीहरूलाई एकैपटक सन्देश पठाउने व्यवस्था मिलाइएको छ, जसले सार्वजनिक सुरक्षा र आपतकालीन तयारी क्षमता अभिवृद्धि गर्नेछ।”

आयोजनाले नदीको बहावमा हुने अकस्मात् वृद्धि र बाँधको गेट खोलिने अवस्थाबारे जानकारी दिन १७ स्थानमा साइरन जडान गरिसकेको छ। होक्सेटारदेखि घुमाउने क्षेत्रसम्मका बासिन्दालाई सतर्कता सूचित गर्न साइरन प्रयोगमा ल्याइएको हो।

उनले थपे, “सेती नदीमा निर्माण भइरहेको १४० मिटर अग्लो बाँधबाट पानी अचानक खोल्दा तल्लो क्षेत्रमा जोखिम नहोस् भनेर नुहाउने, माछा मार्ने, लुगा धुनेजस्ता कार्य गरिरहेका व्यक्तिहरूलाई साइरनमार्फत सूचना दिइनेछ।”

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *