काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताको हैसियत गुमाइसकेका मुख्यमन्त्री बहादुरसिंह लामाले तीन मन्त्री नियुक्त गरेका छन्। गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङलाई मन्त्रीमा नियुक्त गरिएको हो।
लम्साललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ। श्रेष्ठ र गुरुङको जिम्मेवारी भने तोकिन बाँकी छ। बागमतीमा कांग्रेसले सम्हालेका पाँच मन्त्रालय मन्त्रीविहीन थिए।
साउन ९ गते चारजना र १३ गते एकजना मन्त्रीले लामाविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गर्दै राजीनामा दिएका थिए। साउन १३ गते भएको मतदानमा लामाविरुद्ध २२ र पक्षमा १५ मत परेको थियो। बहुमतले प्रस्ताव पारित भएपछि उनी दलको नेता गुमाएका हुन्।
यता, कांग्रेस बागमती संसदीय दलले आज नयाँ नेता चयन गर्दैछ। हरिशरण श्रेष्ठको संयोजकत्वमा गठित निर्वाचन समितिले बिहान ८ बजे मतदाता नामावली प्रकाशन, १० देखि ११ बजे उम्मेदवारी दर्ता, र दिउँसो २ देखि ३ बजेसम्म मतदान हुने कार्यतालिका सार्वजनिक गरेको छ।
इन्द्रबहादुर बानियाँ अविश्वास प्रस्ताव गर्ने पक्षबाट नेताका उम्मेदवार हुनेछन्। लामाको पक्षबाट उनी स्वयं वा अर्का उम्मेदवार उठ्ने टुंगो लागिसकेको छैन। दलको नेता गुमाए पनि लामाले मुख्यमन्त्री नछोड्ने बताएका छन्।




