काठमाडौं । नेकपा एमालेले रसुवामा आएको बाढीबाट प्रभावित पीडितहरूको उद्धार र राहतमा स्थानीय नेता तथा कार्यकर्तालाई सक्रिय रूपमा खटिन निर्देशन दिएको छ। पार्टीका उपमहासचिव भक्त कुमारी लामाले जारी गरेको विज्ञप्तिमा प्राकृतिक विपद्को यस विषम अवस्थामा सरकारलाई प्रभावकारी उद्धार, राहत र बेपत्ता व्यक्तिको खोजी गर्न जोडदार माग गरिएको छ।
एमालेले आफ्नो बागमती प्रदेश कमिटी, जनवर्गीय संगठन, र स्थानीय तहका कमिटीहरूलाई पनि उद्धार कार्यमा तत्काल सक्रिय हुन आह्वान गरेको छ। यसैबीच, रसुवागढी हाइड्रोपावरको ड्याम क्षेत्रमा फसेका ५५ जनामध्ये ५० जनाको सफल उद्धार भइसकेको छ। नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त प्रयासमा मंगलबार दिउँसो १२ ः५० बजेसम्म उद्धार कार्य सम्पन्न भएको हो।
एमालेले विपद्को बेला सबै नागरिक एकजुट भई सहयोग गर्नुपर्ने आवश्यकता औँल्याउँदै सरकार र सुरक्षा संयन्त्रलाई पनि थप प्रभावकारी कदम चाल्न आग्रह गरेको छ।





