देश

‘ठेकेदारसँग कार्यतालिका मागेर सुनकोशी–मरिनको काम द्रुत गतिमा अगाडि बढाउँछौँ’

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले ठेकेदार कम्पनीसँग कार्यतालिका मागेर सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँकी कार्य तीव्र गतिमा सम्पन्न गरिने बताएका छन्।

सिंहदरबारमा आज बसेको संघीय संसदको पूर्वाधार विकास समितिको बैठकमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै मन्त्री खड्काले आयोजनाको टनेल निर्माण कार्य सम्पन्न भइसकेको र बाँकी संरचनागत कार्यलाई तीव्र गतिमा अघि बढाउने तयारी भइरहेको जानकारी गराए।

“आयोजनालाई द्रुत गतिमा सम्पन्न गर्न ठेकेदारसँग स्पष्ट कार्यतालिका मागिएको छ,” मन्त्री खड्काले भने, “समिति तहमा उपसमिति बनाएर स्थलगत अध्ययन गरेमा कामको गति अझै तीव्र हुन्छ।”

त्यस्तै, उनले समितिमा छलफलरत विद्युत् विधेयक, २०८० र नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक दुबैलाई समान रूपमा अगाडि बढाइने आवश्यकता औंल्याउँदै भने, “एउटा विधेयक अघि बढाएर अर्को रोक्नु पर्ने कुनै कारण छैन, दुवैलाई सँगै टुंग्याउने हो।”

डेडिकेटेड र ट्रंकलाइनसँग सम्बन्धित विद्युत् बक्यौता उठाउने विषयमा समिति गठन गरी अनुसन्धान भइरहेको उल्लेख गर्दै मन्त्री खड्काले, “प्रयोग गरेको विद्युत्को बिल कुनै हालतमा तिर्नैपर्छ” भन्ने स्पष्ट सन्देश दिए।

टेक एण्ड पे प्रणालीसम्बन्धी भ्रम हटाउन आग्रह गर्दै मन्त्री खड्काले बजेटमार्फत त्यसमा आवश्यक परिमार्जन भइसकेको जानकारी गराए। जलस्रोत विधेयकबारे उठेका प्रश्नमा जवाफ दिँदै उनले प्रधानमन्त्री र मन्त्रीहरूले यसप्रति चासो राख्नु स्वाभाविक भएको बताए।

उक्त विधेयक राष्ट्रिय सभामा प्रस्तुत गर्ने तयारी अन्तिम चरणमा रहेको जानकारी पनि उनले बैठकमा दिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *