काठमाडौं ।नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा महामन्त्री गगनकुमार थापाले केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतले आफूमाथि लगाएको आरोपलाई ‘फोहोर’ को संज्ञा दिँदै ती आरोपलाई खारेज गरेका छन्।
थापाले भने, “फोहोर चलाएर म फोहोरी बन्न चाहन्नँ।” उनले आरोपलाई गम्भीर, अराजनीतिक, अशिष्ट र अमर्यादित भन्दै त्यसले कांग्रेसभित्रको राजनीतिक आचरणको स्तर घटाएको टिप्पणी गरेका छन्।
आरोपको खण्डन गर्दै थापाले आफ्नो बाल्यकालको अनुभव जोड्दै भने, “बाले भन्नु हुन्थ्यो, कसैले आरोप लगाए जवाफ दिइहाल्नुपर्छ। आमाले भन्नु हुन्थ्यो, फोहोर नचलाउनु — फोहोर चलाए आफैं फोहोरी भइन्छ। आज म आमाको कुरा सुन्छु।”
थापाले पार्टी सभापति शेरबहादुर देउवालाई प्रत्यक्ष सम्बोधन गर्दै, आफ्नो अनुपस्थितिमा केन्द्रीय समितिको बैठकमा धम्कीपूर्ण भाषा र अभद्र व्यवहार देखाउने प्रवृत्तिको आलोचना गरे। उनले भने, “म तरुण दलका अनशनरत साथीहरूको माग सम्बोधन गर्न वार्तामा थिएँ। तर बैठकभित्रै एक केन्द्रीय सदस्यले हुँकार मिश्रित धम्की दिनुभयो रे। त्यो नैतिक पतन हो।”
थापाविरुद्ध आक्रोशित अभिव्यक्ति दिने बस्नेत हाल टेरामाक्स प्रकरणमा मुछिँदै विशेष अदालतबाट २५ लाख धरौटीमा रिहा भएका छन्।




