देश

खुला प्रतिस्पर्धामार्फत त्रिविको उपकुलपति नियुक्त गर्न नेविसङ्घको माग

काठमाडौँ। नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) ले त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया योग्यता र खुला प्रतिस्पर्धामा आधारित बनाउन माग गरेको छ।

नेविसङ्घका अध्यक्ष दुजाङ शेर्पाले आज मातहतका सम्पूर्ण निकायहरूलाई परिपत्र जारी गर्दै उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८० अनुसार योग्यता र प्रतिस्पर्धाको आधारमा नियुक्ति प्रक्रिया अघि बढाउन आग्रह गरेका छन्। यदि त्यसो नभए दबाबमूलक अभियान सञ्चालन गर्न निर्देशन दिइएको उल्लेख छ।

अध्यक्ष शेर्पाले जारी परिपत्रमा विश्वविद्यालयमा राजनीतिक भागबण्डाका आधारमा उपकुलपतिलगायत अन्य पदाधिकारी नियुक्त गर्ने प्रयासप्रति गम्भीर आपत्ति जनाएका छन्। “प्राज्ञिक योग्यता, पारदर्शिता र मर्यादालाई बेवास्ता गरी सत्ता निकट समूहको स्वार्थपूर्ति गर्न खोजिएको देखिन्छ,” परिपत्रमा भनिएको छ, “नेविसङ्घ यस्ता अभ्यासको निन्दा गर्दछ र यसको विरुद्धमा अभियान सञ्चालन गरिनेछ।”

यस अभियान अन्तर्गत सार्वजनिक बहस, हस्ताक्षर सङ्कलन, संयुक्त विरोधपत्र बुझाउनेजस्ता रचनात्मक दबाबमूलक कार्यक्रम सञ्चालन गरिने नेविसङ्घले जनाएको छ। साथै, यो अभियानमा अन्य सङ्गठन तथा स्वतन्त्र समूहलाई पनि जोड्ने नीति लिएको जानकारी अध्यक्ष शेर्पाले दिएका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *