काठमाडौँ। नेपाली काँग्रेसका सांसद चन्द्रकान्त भण्डारीले हालको राजनीतिक नेतृत्वप्रति कडा असन्तुष्टि व्यक्त गरेका छन्। बिहीबार बसेको शिक्षा, विज्ञान तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले अहिलेको नेतृत्वले “बोल्ने, भाषण गर्ने तर कर्तव्यबाट भाग्ने” प्रवृत्ति देखाएको टिप्पणी गरे।
विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदनमाथिको छलफलका क्रममा सांसद भण्डारीले भने, “मलाई के लाग्छ भने अहिलेको नेतृत्वबाट धेरै आशा गर्नु बेकार छ। लेख्ने, बोल्ने, भाषण गर्ने तर कर्तव्य कोही पनि पुरा नगर्ने। यो अहिलेको नेतृत्व हो, र त्यसमध्ये म पनि पर्छु।”
उनको अनुसार, मुलुकको राजनीतिक नेतृत्व व्यवहारिक बन्न आवश्यक छ। भण्डारीले आफ्नो समावेशी टिप्पणीमा आफूलाई पनि त्यसैमा समेट्दै आत्मालोचना गरे।
सीमान्तकृत वर्गको शिक्षा अधिकारमा जोड
भण्डारीले अझै पनि सीमान्तकृत वर्गका बालबालिकाले निःशुल्क शिक्षा पाउन नसकेको उल्लेख गर्दै शिक्षालाई पैसासँग तुलना गर्न नमिल्ने बताए। “शिक्षा बेच्ने चिज होइन, यो जनताको आधारभूत अधिकार हो,” उनले जोड दिए।
उनले शिक्षा क्षेत्रमा गरिब, दलित, आदिवासी जनजातिलाई पहुँच पुगोस् भन्ने उद्देश्यमा अब व्यवहारिक कदम चाल्न आग्रह गरे।




