राजनीति

आन्दोलनको घेरामा अड्किएर रास्वपाले महत्वपूर्ण समय गुमायो : पूर्वअर्थमन्त्री महत

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)माथि संसद्‌को अत्यन्त महत्वपूर्ण चरणमा सहभागिता जनाउन नसकेको भन्दै गम्भीर आलोचना गरेका छन्। आइतबार प्रतिनिधिसभामा वार्षिक बजेटमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले रास्वपाले राजनीतिक आन्दोलनमा अल्झिएर नीति निर्माणको अवसर गुमाएको टिप्पणी गरे।

“बजेट वर्षमा संसद्मा एक पटक आउने यस्तो अवसरमा भाग नलिनु भनेको प्रतिनिधि भएर जनतालाई नै गुमराहमा पार्नु हो,” सांसद महतले भने, “छलफल गर्ने, कमजोरी देखाउने, सुधारको सुझाव दिने ठाँउ नै संसद हो। तर रास्वपाले तथ्यहीन आरोपमा अडिएर संसदबाट टाढा रहनु लोकतान्त्रिक अभ्यासको अपमान हो।”

उनका अनुसार रास्वपाले बजेटका विषयमा विश्लेषण, नीति सुधारको सन्देश दिने तथा खर्चको प्राथमिकतामा बहस गर्ने अवसर आफैंले गुमाएको छ। उनले संसदमा उपस्थित विपक्षी अन्य दलको सहभागितालाई भने सकारात्मक रूपमा लिँदै, “प्रमुख प्रतिपक्षले पनि भाग लिएको छ, त्यसले लोकतान्त्रिक कार्यसंस्कृतिलाई मजबुत बनाउँछ,” उल्लेख गरे।

डा. महतले देशको आर्थिक स्थितिमा गम्भीर बहस आवश्यक रहेको र परिणाममुखी बजेट निर्माणका लागि सांसदहरूको योगदान अपरिहार्य हुने स्पष्ट पारे। “वित्तीय अनुशासन, विकास खर्चको प्रभावकारिता, नीति कार्यान्वयनमा कमजोरी जस्ता विषय छलफलका लागि उपयुक्त वातावरण थियो,” उनले भने, “तर रास्वपाले त्यो जिम्मेवारी उठाउन सकेन।”

उनले गृहमन्त्रीविरुद्ध उठाइएको भिजिट भिसा प्रकरणलाई ‘आधारहीन आरोप’को संज्ञा दिँदै सोही बहानामा संसद अवरुद्ध गर्नु गैरजिम्मेवार व्यवहार भएको बताए।

सांसद महतको भनाइ स्पष्ट छ—प्रतिनिधिसभा जनताका सरोकारका विषयमा बहस गर्ने थलो हो। आन्दोलन, नाराबाजी र संसदीय प्रक्रियाबाट बहिष्कार गरेर रास्वपाले न केवल विधिको सम्मान नगरेको छ, तर आफ्नै सांसदहरूको हस्तक्षेप क्षमतालाई पनि कमजोर बनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *