काठमाडौं । राजसंस्था पुनःस्थापनाको मागसहित आन्दोलनमा उर्तिएका राजावादी नेता तथा कार्यकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आन्दोलनकै क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद दीपक सिंह आइतबार प्रहरीले नियन्त्रणमा लिएका हो । यसअघि पूर्वगृहमन्त्री तथा राप्रपा नेपालका अध्यक्ष कमल थापासहित ७ जना नेताहरू पक्राउ परिसकेका छन् ।
सांसद सिंह कमल थापालाई भेट्न जिल्ला प्रहरी परिसर काठमाडौं पुगेका बेला, सोधपुछका लागि भन्दै उनलाई नियन्त्रणमा लिइएको हो। सिंहसँगै पुगेका प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठलाई भने प्रहरीले परिसरबाहिरै रोकिएको थियो। सिंहको सचिवालयले यो कदमलाई राजनीतिक हस्तक्षेपको रूपमा आलोचना गरेको छ।
पक्राउ पर्नेमा राप्रपा नेपालका अध्यक्ष कमल थापा , राप्रपा सांसद दीपक सिंह,राप्रपा नेतृ शिला राणा ,रोकश बस्नेत,रामचन्द्र लामिछाने,विनोद कपाली ,सरोज तिमिल्सिना,राजीव झा लगायत रहेका छन् निषेधित क्षेत्र तोड्न खोजेको भन्दै प्रपा नेपालका अध्यक्ष कमल थापासहित सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
आइतबार नक्साल, नारायणचौरवाट वालुवाटारतर्फ जान खोज्दै प्रहरीको घेरा तोड्न खोजेपछि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । भिड नियन्त्रण गर्नेक्रममा प्रहरीसँग घम्साघम्सी समेत भएको थियो । उनीहरूलाई काठमाडौं जिल्ला प्रहरी परिसर, भद्रकालीको हिरासतमा राखिएको छ । पक्राउपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आक्रोशपूर्ण प्रतिक्रिया जनाउँदै अब देशभर ५० ठाउँबाट आन्दोलन हुनेछ, गणतन्त्रविरुद्धको खास लडाइँ भोलिबाट सुरु हुन्छ भन्दै काठमाडौं उपत्यका बन्दको चेतावनी दिएका छन्।
तीनकुनेमा सक्रिय मिश्र र राणा कहाँ?
चैत १५ गतेको तीनकुने घटनामा अगाडि देखिएका राप्रपा महामन्त्री धवलशम्शेर राण र राप्रपा उपाध्यक्ष रविन्द्र मिश्र भने राजावादीको पछिल्लो आन्दोलनमा सहभागी भएका छैनन् ।
काठमाडौंको तीनकुनेमा चैत १५ गते भएको राजावादीको हिंसात्मक प्रदर्शनमा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री तथा सांसद धवलशमशेर राणाविरुद्ध चार कसुरमा मुद्दा दायर भएको थियाे । उनीहरू दुवैविरुद्ध समान कसुरमा अभियोजन भएको हो । सरकारी वकिल कार्यालय काठमाडौंले काठमाडौं जिल्ला अदालतमा दायर गरेको अभियोगपत्रमा दुवैजना विरुद्ध राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, संगठित अपराध र एकीकृत कसुरमा मुद्दा दायर भइसकेकाे छ । काठमाडौं जिल्ला प्रहरीले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले उनीहरूसहित ६५ जना विरुद्ध आइतबार मुद्दा दायर गरेको हो । गत चैत १५ राजावादीहरूले तीनकुनेमा प्रदर्शन गरेका थिए । नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन परिचालन समितिको आह्वानमा भएको प्रदर्शनको कमान्डर विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तोकिएको थियो ।
उनीहरुमाथि पूर्व तीनकुने घटनामा मुद्धा चलेपछि पछिल्ला आन्दोलनहरूमा नदेखिनु चासोको विषय बनेको छ। ती नेताहरूको अनुपस्थितिले राजावादी आन्दोलनभित्रको आन्तरिक समन्वयमा दरार देखिएको अनुमान गरिएको छ। राजावादी आन्दोलनको तीव्रता, नेताहरूको गिरफ्तारी, र सत्ता पक्षको प्रतिकारको सन्देशबीच मुलुकको राजनीतिक वातावरण थप तनावपूर्ण बन्न थालेको छ। आन्दोलन शान्तिपूर्ण ढंगले समाधानतर्फ मोडिने हो कि झन् अराजक स्वरूप लिन्छ—अब सरकार, सुरक्षा निकाय र दलहरूका निर्णयमा निर्भर रहनेछ।
तीनकुने घटना प्रकरणमा प्रसाईंविरुद्ध काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दर्ता भइसकेको छ । अहिले उनी काराघारमा छन् । तीनकुने प्रदर्शनका जनकमान्डर प्रसाईंविरुद्ध पाँच वटा अभियोग लगाइएको छ । कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, राज्यविरुद्धको कसुर, संगठित अपराध र आपराधिक उपद्रवमा सजाय हुनुपर्ने मागदाबी लिएर अभियोग पत्र दर्ता भएको हो । प्रहरीले पनि प्रसाईंविरुद्ध पाँच वटा मुद्दा चलाउनुपर्ने रायसहितको मिसिल सरकारी वकिल कार्यालयमा बुझाएको थियो । तीनकुनेमा प्रदर्शनकारीले घरमा आगो लगाउँदा पत्रकार सुरेश रजकको जलेर मृत्यु भएको थियो । प्रसाईंले प्रहरीलाई मारौंला झै गरेर गाडी दौडाएका थिए । उनले ‘आउ, आउ’ भन्दै प्रदर्शनकारीलाई उक्साएका थिए ।प्रदर्शन अघि पनि अराजक अभिव्यक्ति दिएर उनले भीडलाई भड्काएका थिए ।




