राजनीति

स्थायित्व दिन नसक्नु माओवादी आन्दोलनको मुख्य कमजोरी थियो : विप्लव

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले २०६४ सालपछि स्थायित्व दिन नसक्नु माओवादी आन्दोलनको प्रमुख कमजोरी भएको स्वीकार गरेका छन्। गणतन्त्र दिवसको अवसरमा बुटवलमा आयोजित कार्यक्रममा बोल्दै उनले माओवादी विभाजनको कारण आन्दोलनका आदर्शबाट विचलन भएको बताए।

“जनताले २०६४ मा साथ दिए, जनयुद्धमा पनि साथ दिएका थिए। तर त्यो जनविश्वासलाई संस्थागत गरेर स्थायित्व दिन सकिएन,” विप्लवले जनपत्रकार संगठनद्वारा आयोजित अन्तरसंवादमा भने, “हामी पुरानै सोच, प्रवृत्तिमा अड्किरहेौं भने रूपान्तरण असम्भव हुन्छ।”

उनले वर्तमान प्रणालीको दोष नभई कार्यान्वयन असफलताको दोष रहेको स्पष्ट पारे। “गणतन्त्रलाई बदनाम गर्ने काम भएको छ, तर दोष प्रणालीको होइन, हाम्रो अभ्यासको हो,” विप्लवले भने। काठमाडौँका मेयर बालेन शाहको उदयलाई परम्परागत दलहरूको सोचप्रति जनआक्रोशको नतिजा भन्दै उनले नेतृत्वमा वैचारिक रूपान्तरणको खाँचो औँल्याए। “शासक वर्गमा नेतृत्वको, श्रमिक वर्गमा चेतनाको बदलाव आवश्यक छ,” उनको भनाइ थियो।

राजसंस्थाको पुनर्स्थापनाबारे चर्किएको बहसप्रति प्रतिक्रिया दिँदै विप्लवले भने, “अब राजा फर्किएर केही समाधान हुन्छ भन्ने भ्रम पाल्नु बेकार छ। समाजवादका लागि बहस खुला हुनुपर्छ।” विप्लवले नेपाली समाज, संस्कृति र सन्दर्भअनुसारको समाजवादको आवश्यकता औँल्याउँदै विदेशी मोडलहरू जस्ताको तस्तै लागू गर्न खोज्नु उपयुक्त नहुने बताए। “रूस वा चीनको मोडल होइन, नेपालकै समाजमा आधारित मोडल चाहिन्छ,” उनले भने।

उनले सडक आन्दोलनमा समाजवादीहरू पनि सक्रिय हुनुपर्ने भन्दै, “राजावादीहरू सडकमा देखिन्छन्, तर समाजवादीहरू किन मौन ?” भन्दै प्रश्न उठाए। साथसाथै, संविधान संशोधन र जनमत संग्रहको विषयमा खुला बहस हुनुपर्ने धारणा पनि राखे।

“नेपालमै रमाएर, परिवर्तनको बाटोमा अघि बढ्न सकिन्छ, पावर र पैसाको पछि लाग्नैपर्छ भन्ने छैन,” भन्दै उनले वैचारिक स्पष्टताका साथ समाजवादी मार्गमा अघि बढ्न आह्वान गरे।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *