काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रमुख सहसचिवको जिम्मेवारी सम्हालिरहेका तीर्थराज भट्टराईको सरुवालाई लिएर उठेका सवालबारे गृहमन्त्री रमेश लेखकले आफूमाथि लागेको आरोप तथ्यहीन र राजनैतिक प्रतिसोँधपूर्ण उदेश्यबाट लगाइएको बताएका छन् । मंगलबारबाट सत्ताप्रतिपक्ष दल नेकपा माओवादी, रास्वपा र राप्रपाले भिजिट भिषा प्रकरणमा गृहमन्त्री रमेश लेखकलाई विनाप्रमाण आरोप लगाउँदै राजीनामाको माग गर्दै सो प्रकरणको छानबिन गर्न माग गर्दै आयोग गठन गर्न माग गर्दै संसद अवरुद्ध गरेपछि मन्त्री लेखकले बुधबार एक पत्रकार सम्मेलन गर्दै सो घटनाबारे स्पष्ट पारेका हुन् । पत्रकार सम्मेलनमा बोल्दै मन्त्री लेखकले कुनै पनि गैरकानुनी कार्यमा संलग्नमाथि अनुसन्धान अघि बढाउन निर्देशन दिदाँ षडयन्त्रपूर्ण ढङगले आफुमाथि आरोप लगाइएको भन्दै आपत्ति जनाए । उनले भट्टराईलाई आफैंले सरुवा गरेर गृह मन्त्रालयमा ल्याएको भन्ने कुरा तथ्यहीन भएको बताएका हुन् ।
बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले भने, “उहाँ २०७७ सालदेखि नै गृह मन्त्रालय मातहतमा रहेर विभिन्न विभागमा काम गरिरहनुभएको हो। अहिलेको जिम्मेवारी पनि स्वाभाविक निरन्तरताकै हिस्सा हो।”
भट्टराई राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग र कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागको महानिर्देशक भएर काम गरिसकेका छन्। लेखकले भने, “उहाँ जस्तो अनुभव भएका व्यक्तिलाई अरूले धेरै जिम्मेवारी दिएका छन्, मैले होइन।”
गृहमन्त्रीले सरुवालाई लिएर अनावश्यक प्रचार नगरियोस् भन्ने आग्रह गर्दै, यो कुनै आकस्मिक वा विवादास्पद निर्णय नभएको स्पष्ट पारे । “मैले न त कुनै आग्रहपूर्वाग्रहका आधारमा निर्णय गरेको हुँ, न त कसैलाई विशेष लाभ दिएको छु,” उनले भने ।
त्यसैगरी, उनले राजनीतिक वा सार्वजनिक पदमा रहेका जो कोहीमाथि पनि निरन्तर छानबिन भइरहने भन्दै भट्टराईको विषयलाई पनि सामान्य प्रक्रियाका रूपमा लिन आग्रह गरे। “छानबिन हुनु स्वाभाविक प्रक्रिया हो, तर प्रचारमा अतिरञ्जना गर्नु अनुचित हुन्छ,” गृहमन्त्री लेखकको भनाइ थियो।
मन्त्री लेखकका अनुसार भट्टराईलाई २०७७ सालमा तत्कालीन गृहमन्त्री रामवहादुर थापा बादलको कार्यकालमा गृह मन्त्रालयबाट गोरखा र त्यसपछि महोत्तरीको प्रमुख जिल्ला अधिकारी बनाइएको थियो ।
त्यस्तै भट्टराईलाई २०७८ सालमा बालकृष्ण खाँण गृहमन्त्री भएका बेला गृह मन्त्रालय अन्तर्गत पन्जिकरण विभागको महानिर्देशक बनाइएको र सोही वर्ष मोरङको सिडिओ बनाइएको बताए । २०७९ सालमा प्रचण्डले गृहमन्त्रीको समेत कार्यभार सम्हालेको बेला गृह मन्त्रालयमा ल्याइएको र नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुन्जेल उनी सोही विभागका रहेको बताए । त्यसपछि रवि लामिछाने गृहमन्त्री भएका बेला भट्टराईलाई २०८० साउन ४ गते हेटौंडास्थित मुख्यमन्त्री कार्यालयबाट गृहमा ल्याइएको लेखकले बताए । उनले आफू गृहमन्त्री भएर आउँदा उनी कसूरजन्य सम्पत्ति व्यवस्थापन विभागको महानिर्देशक रहेको स्मरण गराए । लेखकले एउटा कर्मचारीमाथि अनुसन्धान हुँदा मन्त्रीले राजीनामा दिने सिस्टममा समस्या आउने उल्लेख गरे । उनले भट्टराई पाँच वर्षदेखि गृहमन्त्रालयमा नै कार्यरत रहेको बताए ।




