देश

सिरहामा शिक्षकको कुटपिट : गृहकार्य नगरेको भन्दै १३ वर्षीय बालक बेहोश, अस्पताल भर्ना

काठमाडौं । सिरहाको एपेक्स विद्या मन्दिरका कक्षा ८ मा अध्ययनरत १३ वर्षीय अविनास यादवलाई शिक्षकले निर्घात कुटपिट गर्दा बेहोश हुने अवस्था आएपछि अस्पताल भर्ना गरिएको छ।

गोलबजार नगरपालिका–७, चाहेर्वास्थित विद्यालयमा अध्ययनरत अविनासले गृहकार्य नगरेको भन्दै शिक्षक सन्तोष गुप्ताले कक्षा कोठामै थुनेर बाँसको लठ्ठीले कुटेका थिए। गाला, पिठ्यूँ र तिघ्रामा गहिरो चोट र नील डाम देखिएका बालकको अवस्था खतरामुक्त भए पनि मानसिक आघात भने स्पष्ट देखिएको छ।

बालकको बुबा सुरेश कुमार यादवले छोरालाई बेहोश अवस्थामा फेला पारी तत्कालै अस्पताल पुर्याएका थिए। “झण्डै मेरो बच्चा मारे,” भन्दै उनी दोषी शिक्षकमाथि कडा कारबाहीको माग गर्दै आँशु झार्दै बोले।

पक्राउ परेका शिक्षक सन्तोष गुप्तामाथि इलाका प्रहरी कार्यालय गोलबजारले अनुसन्धान अघि बढाएको छ। प्रहरीले “कानूनअनुसार कारबाही हुन्छ” भनी प्रतिक्रिया दिएको छ।

स्थानीयवासी र बाल अधिकारकर्मीहरूले समेत घटनाको कडा निन्दा गर्दै दोषी शिक्षकलाई कडाभन्दा कडा सजाय दिन माग गरेका छन्। बालबालिकामाथिको यस्तो व्यवहारले शिक्षा क्षेत्रकै नैतिकता माथि प्रश्न उठाएको भन्दै आवाज चर्किएको छ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *