राजनीति

गणतन्त्रप्रति आशा जगाउन सरकार गम्भीर होस् : अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारलाई जनतामा गणतन्त्रप्रति आशा र विश्वास जगाउने गरी काम गर्न सुझाव दिएका छन्।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै, लिङ्देनले यस वर्षको नीति तथा कार्यक्रम गत वर्षको जस्तो सकारात्मक प्रयास भएको अनुभूति नहुने बताए। उनले गत वर्षको नीति तथा कार्यक्रममा “गणतन्त्रप्रति आशा जगाउने” भनिएको उल्लेख गर्दै, यस पटक त्यस्तो सन्देश नदेखिएको धारणा राखे।

उनले भने, “यो वर्ष सरकारको भाषाबाट नै मनोबल कमजोर देखिन्छ, व्यवस्थाको रक्षार्थ लड्ने भन्ने शैली उत्साहजनक होइन।” लिङ्देनले संविधानले व्यवस्थाप्रति प्रश्न उठाउने अधिकार दिएको भन्दै, राप्रपाको एजेण्डा संविधानभित्रै सीमित रहेर अघि बढाउने प्रतिबद्धता पनि दोहोर्याए।

साथै, सरकारले फजुल खर्च घटाउने, अनावश्यक संरचना हटाउने जस्ता कदम चालेर जनताको निराशा चिर्न सक्ने सुझाव उनले दिए। यस्ता सुधारका काममा राप्रपाको समर्थन रहने स्पष्ट पार्दै, प्रस्तुत नीति तथा कार्यक्रमले जनअपेक्षा अनुसार आशा जगाउन नसकेको टिप्पणी गरे।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *