काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिएको विषय संसदमा चर्किएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले घटनालाई राजनीतिक प्रतिशोधको रूपमा व्याख्या गर्दै कडा प्रश्न उठाएका छन्।
मंगलबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै झाले भने, पछिल्ला केही घटनाहरू — हाम्रो पार्टी सभापति, रेशम चौधरी, अब माधव नेपालज्यूसँग बयान — यी सबैलाई हामीले राजनीतिक प्रतिशोधको शृंखलाको रूपमा लिएका छौं। अब सिके राउतज्यूमाथि पनि कारबाही सुरु हुन्छ कि भन्ने चिन्ता छ।
झाले सरकार र अख्तियारको कदमले निष्पक्षताको सन्देह उत्पन्न गराएको बताए। उनले चेतावनी दिँदै भने, हामी सधैं चुप लागिरहने पक्षमा छैनौं। यो गम्भीर विषय हो, र प्रतिशोधको राजनीति स्वीकार्य हुन सक्दैन।
यसअघि पतञ्जलि जग्गा प्रकरणमा पनि माधव नेपालसँग बयान लिएको समाचार बाहिरिएको थियो, जुन घटनालाई रास्वपाले राजनीतिक उद्देश्यप्रेरित कदमको रूपमा हेरेको बताएको छ।




