काठमाडौँ। विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको ३१औँ बैठक गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा सम्पन्न भएको छ। बैठकले विगतका मनसुनजन्य विपद्बाट भएको क्षतिलाई स्मरण गर्दै यस वर्षको मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२ लाई तत्काल अन्तिम रूप दिई कार्यान्वयन गर्न निर्देशन दिएको छ। जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानलाई आधार मान्दै कार्ययोजनामा तोकिएका जिम्मेवारीसहित पूर्वतयारीलाई तीव्रता दिन प्राधिकरण र सम्बन्धित सबै निकायलाई बैठकले निर्देशन दिएको हो।
त्यसैगरी, बैठकले निर्माणाधीन महाकाली पुल, पुलको पहुँच मार्ग, भीमदत्त नगरपालिकाका वडा नं. ११, १२ र १३ तथा दोधारा चाँदनी नगरपालिकाका वडा नं. ३, ८, ९ र १० का बस्तीहरूलाई संरक्षण गर्न विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ (१) बमोजिम तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न नेपाल सरकारसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।
बैठकका क्रममा गृहमन्त्री लेखकले गत असोजमा अविरल वर्षाका कारण आएको बाढीपहिरोमा उद्धारकार्यमा खटिँदा स्वास्थ्यमा जटिल समस्या आई मृत्यु भएका सशस्त्र प्रहरी निरीक्षक दिल बहादुर बडुवालको विपद् व्यवस्थापनमा पुर्याएको विशेष योगदानको उच्च कदर गर्दै उनकी पत्नी सुजी कुँवरलाई मरणोपरान्त सम्मानपत्र प्रदान गर्नुभयो।
बैठकले पश्चिम नेपाल भूकम्प तथा २०८१ सालको मनसुनजन्य विपद् पछिको पुनर्लाभ योजना (२०८१/०८२-२०८३/०८४) को कार्यान्वयनको अवस्थाबारे समीक्षा गर्दै क्षति आकलन बाँकी रहेका घरधुरीको कामलाई तीव्रताका साथ सम्पन्न गर्न प्राधिकरणलाई निर्देशन दिएको छ।




