काठमाडौं। सर्वोच्च अदालतले रेशम चौधरीलाई तत्काल थुनामुक्त गरिदिन कारागार व्यवस्थापन विभागलाई पत्र लेखेको छ। सर्वोच्च अदालतले यसअघि रेशम चौधरीलाई थुनामा पठाउने पत्र आधिकारिक नभएको स्पष्ट पारेको छ। आजै सर्वोच्च अदालतको पत्रका आधारमा सादा पोशाकका प्रहरीले चौधरीलाई पक्राउ गरेका थिए।
पक्राउ गरी थुनामा पठाउन भनी सर्वोच्च प्रशासनका शाखा अधिकृत महिमानसिंह विष्टको हस्ताक्षरबाट कारागार कार्यालय डिल्लीबजारका नाममा पत्र बाहिरिएको थियो। उक्त पत्र आधिकारिक नभएको सर्वोच्च अदालतले जनाएको छ।
सर्वोच्च अदालतका सह–रजिष्ट्रार अच्युत कुइँकेलद्वारा जारी पत्रमा भनिएको छ, ‘यस अदालतको मुद्दा तथा रिट महाशाखा उल्लेख भई च.नं.१९२७७, मिति २०८२।१।१७ मा कैदमा राख पठाइएको सम्बन्धमा भन्ने विषयमा श्री कारागार कार्यालय डिल्लीबजारका नाममा लेखिएको पत्र यस अदालतको आधिकारिक पत्र नभएको हुँदा उक्त पत्र कार्यान्वयन नगरी उक्त पत्रबमोजिम कैलाली जिल्ला साविक दुर्गौली गा.वि.स.वडा नं. ८ हाल जानकी गाउँपालिका वडा नं. ६ घर भएका लालविर चौधरीको छोरा रेशमलाल चौधरी पक्राउ परेको भए तत्काल कैद र थुनामुक्त गरिदिनुहुन अनुरोध छ।’





