राजनीति

माओवादी केन्द्र आन्दोलनरत शिक्षकको संरक्षणमा

काठमाडौं । देशभर जारी शिक्षक आन्दोलनले सामाजिक सेवा क्षेत्रमै अस्थिरता ल्याएको छ। आन्दोलनरत शिक्षकहरूले सरकारको निर्देशन नमानी सडक आन्दोलन चर्काएका छन् भने केही स्थानमा सुरक्षाकर्मीमाथि ढुङ्गामुडा समेत गरेको रिपोर्टहरू सार्वजनिक भएका छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र भने आन्दोलनरत शिक्षकहरूको पक्षमा खुलेर उभिएको छ। प्रतिनिधिसभाको बैठकमा बोल्दै माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले सरकारमाथि आन्दोलनमा दमन गरेको आरोप लगाए। उनले सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुको सट्टा अश्रुग्यास, पानीको फोहरा र लाठी प्रहार गरेर आन्दोलन दबाउन खोजेको टिप्पणी गरे।

शर्माले संविधान जारी भइसकेपछिको समयमा समेत शिक्षा क्षेत्रलाई नयाँ दिशा दिन सक्ने ऐन निर्माण नहुनु आपत्तिजनक रहेको बताए। साथै, विगतमा भएका सरकार–शिक्षक सम्झौता कार्यान्वयन नगरेको भन्दै सरकारमाथि धोखाधडी गरेको आरोप लगाए। माओवादी केन्द्रले आफ्नो नेतृत्व कालमा शिक्षा ऐन जारी गर्न नसकेपछि हटेको थियो । तर हालको सरकारले आन्दोलनरत शिक्षकहरुका जायज माग सम्बोधन गर्न तयार रहेको जनाइसकेको छ ।

शिक्षक आन्दोलनले देशभरि पठनपाठन प्रभावित भएको छ भने विद्यालय बन्द हुँदा विद्यार्थीको शैक्षिक भविष्यमा गम्भीर असर परेको छ। आन्दोलनका क्रममा सुरक्षाकर्मीमाथि भएको आक्रमणले कानुनी शासन र सार्वजनिक सुरक्षामाथि समेत चुनौती प्रस्तुत गरेको देखिन्छ।

सरकारले आन्दोलन अन्त्यका लागि वार्ता गर्न आह्वान गरे पनि आन्दोलनकारीहरू माग पुरा नभएसम्म नहट्ने अडानमा छन्। यता, आन्दोलनको आडमा हिंसात्मक गतिविधि बढेमा थप समस्या चुलिने चिन्ता व्यक्त भइरहेको छ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *