राजनीति

संवैधानिक परिषद् विधेयक राष्ट्रियसभा

काठमाडौँ। संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ प्रतिनिधिसभाबाट प्राप्त भएपछि आज राष्ट्रियसभामा टेबुल गरिएको छ। राष्ट्रियसभाको आज बसेको बैठकमा सभाका सचिव डा. सुरेन्द्र अर्यालले उक्त विधेयक टेबुल गरेका हुन्।

बैठकमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति कार्यालयबाट प्राप्त विभिन्न पत्रहरूको बेहोरा सभालाई जानकारी गराए। त्यसैगरी, उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पनि सभालाई जानकारी गराए।

आजको बैठकमा संविधानसभा सदस्य एवं प्रतिनिधिसभाका पूर्व सदस्य तीर्थराम डंगोल र प्रतिनिधिसभाका पूर्वसदस्य कमल कोइरालाको निधनमा राष्ट्रियसभाले शोक प्रस्ताव पारित गरेको छ। सभाका अध्यक्ष नारायणप्रसाद दाहालले पेस गरेको शोक प्रस्ताव सर्वसम्मतिले पारित गर्दै उहाँहरूको निधनप्रति शोक प्रकट गरी एक मिनेट मौनधारण गरिएको थियो।

त्यसैगरी, आजको बैठकमा पर्यटन विधेयक, २०८१ पनि पेस गरिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले उक्त विधेयक सभासमक्ष पेस गरेका हुन्।

राष्ट्रियसभाको अर्को बैठक यही वैशाख १९ गते, शुक्रबार, दिउँसो १ बजेर १५ मिनेटमा बस्नेछ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *