मनोरञ्जन

मह जोडीको अटुट सहयात्रा : ४५ वर्षको हास्य र सद्भाव

काठमाडौँ । नेपाली हाँस्यव्यङ्ग्य क्षेत्रका दुई शिखर व्यक्तित्व – मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, जसलाई दर्शकले मायाले ‘मह जोडी’ भनेर चिन्छन् – आज सहकार्यको ४५ औँ वर्षगाँठ मनाउँदैछन्। ‘एकै रथका दुई पाङ्ग्रा’झैँ यी दुई वरिष्ठ कलाकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा आफ्ना प्रस्तुति मार्फत करोडौं दर्शकको मन जितेका छन्।

करिब आधा शताब्दी लामो यो सहकार्य नाम र दाम कमाउने मात्र नभई एकअर्काप्रतिको अटुट विश्वास, पारिवारिक हार्दिकता र दर्शकको अथाह मायाको प्रतीक हो। अभिनेता हरिवंश आचार्य यसलाई भाग्यमानी पुस्ताको उपज मान्छन् किनकि उनीहरूले कला यात्रामा प्रविधि र राजनीतिमा आएका धेरै परिवर्तनलाई नजिकबाट देख्ने र अनुभव गर्ने अवसर पाए। उनीहरूले रङ्गमञ्च, क्यासेट, टेलिभिजन शृङ्खला र चलचित्र जस्ता विभिन्न माध्यमबाट आफ्नो कला प्रस्तुत गरे। अहिले पनि पुराना कामलाई आधुनिक प्रविधिमा ढालेर डिजिटल प्लेटफर्ममा उपलब्ध गराइरहेका छन्।

अभिनेता आचार्यले मह जोडीको सफलताको रहस्य आपसी सुमधुर सम्बन्ध, परिवारको निरन्तर सहयोग र दर्शकको अटुट मायालाई दिएका छन्। दर्शकले उनीहरूलाई सधैँ एकसाथ हेर्न चाहेको र परिवारले हरेक पाइलामा साथ दिएकोले यो लामो यात्रा सम्भव भएको उनको भनाइ छ। उनीहरूले आफ्नो कामलाई इमान्दारीपूर्वक समर्पण गरे र कहिल्यै एकअर्काप्रति इर्ष्याको भावना राखेनन्।

अर्का अभिनेता मदनकृष्ण श्रेष्ठ पनि मिलेर काम गर्दा सफलता अवश्य मिल्ने बताउँछन्। ७५ वर्षको उमेरमा पनि चलचित्र र विज्ञापनमा सक्रिय श्रेष्ठले कामको दौरानमा लाभ–हानिलाई कहिल्यै प्राथमिकता नदिएको बताए। उनीहरू पैसाको पछि नलागी काममा केन्द्रित भए र त्यसैले नाम र दाम दुवै कमाए। दुवैको नाम र काम एउटै भएकाले सोच्नुपर्ने कुरा केही थिएन। इमान्दारिता, सद्भाव र एकअर्काको प्रगतिमा खुसी हुनु नै उनीहरूको लामो सहयात्राको रहस्य हो। स्वास्थ्यले साथ दिएसम्म सँगै काम गरिरहने प्रतिबद्धता उनीहरूले व्यक्त गरेका छन्।

निर्देशक प्रदीप भट्टराई, जो २०६० सालदेखि ‘मह सञ्चार’मा जोडिएका छन्, उनीहरूलाई जीवित भगवान् जस्तै मान्छन्। सामान्य सहयोगीबाट निर्देशकको भूमिकामा पुगेका भट्टराईले मह जोडीबाट कर्म र व्यवहार सिकेको बताउँछन्। उनीहरूलाई ‘दुईमै एक र एकमै दुई’ देख्ने भट्टराई मह जोडीलाई शीर्ष भूमिकामा लिएर एउटा उत्कृष्ट चलचित्र बनाउने धोको राख्छन्।

हाँस्य कलाकारको पहिचान बनाए पनि पछिल्लो समय मह जोडी फरक भूमिकामा प्रस्तुत भइरहेका छन्। आचार्यले ‘भूठान’ र श्रेष्ठले ‘महापुरुष’ जस्ता चलचित्रमा गम्भीर अभिनय गरेर आफ्नो बहुमुखी प्रतिभा देखाइसकेका छन्। निर्देशक भट्टराई उनीहरूलाई पूर्ण कलाकार मान्छन् र दर्शकले पनि उनीहरूलाई हरेक प्रकारको भूमिकामा स्वीकार गरिसकेको बताउँछन्।

गत वर्ष मह जोडीले नेपाल र विदेशमा ‘मह जात्रा’ गरे र आगामी दिनमा पनि सँगै कामलाई निरन्तरता दिने योजनामा छन्। छोटो समयमै सम्बन्ध टुट्ने अहिलेको समयमा श्रेष्ठ र आचार्यको ४५ वर्ष लामो सहकार्य साँच्चै नै प्रेरणादायक छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *