काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले रवि लामिछाने र बालेन शाहको शैलीलाई अराजक भन्दै आलोचना गरेका छन्। उनले यस्तो व्यवहारले लोकतान्त्रिक मूल्य र मान्यतामा नकारात्मक असर पारिरहेको टिप्पणी गरेका हुन्।
शुक्रवार सामाजिक सञ्जालमार्फत अभिव्यक्ति दिँदै भुसालले भने, “यी नेताहरूको अल्लारे र उत्ताउलो व्यवहार आफैंमा अशोभनीय छ। तर, सत्ता पक्षका दोहोरो चरित्र र पाखण्डपूर्ण व्यवहारबाट तयार भएको एक समूहले आफैंका विरुद्ध नारा लगाउन थालेपछि सत्ता गठबन्धन झस्किएको छ।”
भुसालले चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादीहरूले गरेको आन्दोलन आपराधिक भएको दाबी गर्दै, त्यस घटनालाई मोड्न गलत प्रचारबाजी भइरहेको आरोप पनि लगाए।
उनले अहिले सामाजिक सञ्जाल र प्रचार माध्यममार्फत नयाँ ‘विकासको भाष्य’ निर्माण गर्ने प्रयास भइरहेको बताए, जसले विगतमा भएको राज्य शोषणलाई ढाकछोप गर्न खोजेको उनले उल्लेख गरे।
भुसालको ठम्याइमा, जबसम्म राजनीतिक नेतृत्वले आफ्ना कमजोरी र गल्तीको जिम्मेवारी लिंदैन, तबसम्म गणतन्त्र अस्थिर नै रहन्छ। उनले गणतन्त्रलाई संस्थागत गर्नका लागि विगतको मूल्यांकन र आत्मआलोचना आवश्यक रहेको धारणा राखे।




