
मुस्ताङ। मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–४ कागबेनी गाउँमा रहेको बाह्र सय वर्ष पुरानो ऐतिहासिक कागबेनी दरबार संरक्षणको पर्खाइमा छ। सख्खर माटोले बनेको सात तले यो दरबार अहिले भग्नावशेषमा परिणत भएर चार तला मात्र बाँकी छ।
स्थानीयका अनुसार, यो दरबारमा बसेर जुम्लाबाट आएका राजाले शासन गर्थे। कागबेनीका स्थानीयका अनुसार दरबार र राजाको बारेमा थप अनुसन्धान भइरहेको छ।
ढुङ्गा र माटोले बनेका पुराना घरहरूको बीचमा रहेको यो दरबारबाट तत्कालीन राजाले लोमान्थाङका राजालाई चुनौती दिएको पूर्वअध्यक्ष फेञ्चोक छेप्तेन गुरुङले बताए। मुस्ताङी राजाबाट पराजित भएपछि राजाले दरबार छोडेको किंवदन्ती छ।
गुरुङका अनुसार, जुम्लाबाट आएका राजाले पान्डाखोलादेखि घिलिङसम्म शासन गरेका थिए। कागबेनीसहित फल्याक, धाकार्जुङ, पाक्लिङ, तिरी, पुराङ, झोङ, मुक्तिनाथ, छुसाङ, तेताङ, चैले, समर र घिलिङ गाउँसम्म उनको आधिपत्य थियो।
अनुसन्धान अनुसार, राजाले कागबेनी दरबारमा बसेर प्रजामाथि अत्याचार गर्थे। तत्कालीन ङ्ज्याप बारागुङका प्रजालाई खाना दिएर काममा लगाइन्थ्यो र आदेश नमाने शारीरिक यातना दिइन्थ्यो।
कागबेनीमा कुन जुम्ली राजाले शासन गरे भन्ने अझै अज्ञात छ। स्थानीयहरू यसको अभिलेख खोजिरहेका छन् र दरबारलाई सङ्ग्रहालय बनाउने योजना छ, तर गाउँपालिका र स्थानीयबाट पर्याप्त सहयोग जुट्न सकेको छैन।
कागबेनी मन्दिर व्यवस्थापन समितिकी अध्यक्ष लक्ष्मी गुरुङका अनुसार, बाह्र सय वर्षअघि यहाँ दूधको कुण्ड थियो, जसलाई मासेर सात तले दरबार बनाइएको थियो। हावाहुरी र घामपानीले जीर्ण भएपछि दरबार चार तला मात्र बाँकी छ। दरबारको जग दुई मिटरभन्दा बढी गहिरो छ र याकले थिचेर जग बलियो बनाइएको कथन छ।
बारागुङ मुक्तिक्षेत्रको महत्त्वपूर्ण सांस्कृतिक पर्व यार्तुङमा गाइने भातिन गीतको सुरुवात यही दरबारबाट भएको मानिन्छ, जुन परम्परा अहिलेसम्म कायमै छ। यस गीतमा कागबेनी दरबार र यसको निर्माणको विषयवस्तु समेटिएको हुन्छ।
भग्नावशेष दरबारभित्र माटोका गुरु रिन्पोर्छे र अन्य देवीदेवताका मूर्तिहरू तथा भत्किएका झ्यालढोकाहरू सुरक्षित राखिएका छन्। दरबारको बाँकी भागमा स्थानीय कामदार बस्छन् भने भित्र पशुचौपाया बाँध्ने ठाउँ जस्तो बनेको छ।
प्रसिद्ध धार्मिक स्थल कागबेनीमा रहेको यो ऐतिहासिक दरबारबारे धेरै पर्यटक अनभिज्ञ छन्। उचित संरक्षणको अभावमा दरबार जीर्ण बन्दै गएको छ। सात तले दरबारको तीन तलाको केही भाग मात्र ठिङ्ग उभिएको छ भने बाँकी चार तला पनि जोखिमपूर्ण अवस्थामा छन्।
स्थानीयहरू पुरानो दरबारको खोज, अनुसन्धान र संरक्षण गर्न सके यस क्षेत्रको पर्यटन विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्छन्।