देश

शान्तिपूर्ण भनिएको राजावादी प्रदर्शन उग्र, निजी सम्पत्तिमा तोडफोड र आगजनी

काठमाडौं । राजसंस्थाको पुनर्स्थापनाको माग गर्दै सुरु भएको राजावादी प्रदर्शन बिहीबार तीनकुने क्षेत्रमा उग्र रूप लिएको छ। प्रदर्शनकारीहरूले निजी सम्पत्तिमा तोडफोड गर्दै आगजनी गरेका छन्। तीनकुनेस्थित रोयल बैंक्वेट नजिकका दुई घरमा प्रदर्शनकारीहरू पसेर कुर्सी, कागजपत्र लगायतका सामग्री बाहिर निकालेर आगो लगाएका छन्। आक्रोशित समूहले घरतर्फ ढुंगा प्रहार गर्दा झ्यालका सिसा फुटेर छिया(छिया भएका छन्। स्थानीयवासीले अचानक प्रदर्शन हिंसात्मक बनेपछि त्रास महसूस गरेको बताएका छन्।

प्रदर्शनकारीहरूले प्रहरीलाई आरोप लगाउँदै आक्रोशित बनेका हुन्। उनीहरूको दाबी अनुसार, प्रहरीले सरकारको पक्ष लिँदै प्रदर्शनकारीमाथि बल प्रयोग गरिरहेको छ। यही आक्रोशमा प्रदर्शनकारीले घरमा तोडफोड र आगजनी गरेका हुन्। घटनास्थलमा रहेका नेपाल प्रेसका पत्रकार उमेश कार्कीका अनुसार, प्रदर्शनकारीहरूले प्रहरीलाई समर्थन गर्ने भन्दै स्थानीयको सम्पत्तिमा क्षति पुर्‍याएका हुन्।

प्रदर्शन सुरुमा शान्तिपूर्ण थियो। तर, जब प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्दै नयाँ बानेश्वर जान खोजे, प्रहरीले लाठीचार्ज र अश्रुग्यास प्रहार गर्यो। त्यसपछि स्थिति उग्र बनेको हो। प्रहरीको हस्तक्षेपपछि तितरबितर भएका प्रदर्शनकारीहरू आक्रोशित हुँदै नजिकका घरहरूमा तोडफोड गर्न पुगे। प्रहरीले सार्वजनिक र निजी सम्पत्तिमा आक्रमण हुन नदिन थप बल प्रयोग गर्नुपर्ने अवस्था आउने संकेत गरेको छ। अहिले पनि तीनकुने क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालित छन्।

हालसम्म स्थिति पूर्ण रूपमा नियन्त्रणमा आएको छैन। प्रदर्शनकारीहरू पुनः संगठित हुँदै विरोधलाई निरन्तरता दिने तयारीमा छन्, भने प्रहरी थप सुरक्षात्मक रणनीतिमा छ।स्थानीयवासीहरूले प्रदर्शनकारीको आक्रोशबाट आफ्नो सुरक्षामा खतरा महसुस गरेका छन् र प्रशासनलाई निजी सम्पत्तिको सुरक्षा गर्न माग गरेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *