राजनीति

सरकारको अलोकतान्त्रिक कदमविरुद्ध विपक्षी दलहरू आक्रामक

काठमाडौं । प्रतिपक्षी दलहरूले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएकोमा संसदमा सरकारको बिरोध गर्ने भएका छन् ।

बुधवार सिंहदरबारमा बसेको संसदका विपक्षी दलहरूको बैठकले सदन र सडकबाट सरकारको सो निर्णयको बिरोध गर्ने निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले सरकारले अलोकतान्त्रिक रुपमा विधि मिचेर कुलमानलाई हटाएको भन्दै प्रतिपक्षी दलहरुले संसदमा आवाज उठाउने र सडकमा पनि बिरोध गर्ने निर्णय भएको जानकारी दिएका छन् ।

उनले भने- ‘पछिल्ला गतिविधि र सरकारले गरेका पछिल्ला निर्णयहरुको बारेमा संसदमा भएका विपक्षी दलहरुको बैठक बस्यौँ । मुख्यतः सोमवार राति भएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई जुन अलोकतान्त्रिक तरिकाले, दुई तिहाईको दम्भका साथ पार्टीहरुको सरकारले गलहत्याउने काम गरेको छ । अनुशासन, विधि भन्दा माथि गएर शक्ति प्रयोग गरेर हटायो । त्यस निर्णयबिरुद्ध सदनमा आवाज उठाउनेछौँ । सदनमा प्रश्न गर्ने र त्यस कार्यको बिरोध गर्नेछौँ ।’

बुधबार बिहान माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा भएको बैठकमा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नारायणकाजी श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट कार्यवाहक सभापति डीपी अर्याल, स्वर्णिम वाग्ले, नेकपा एकीकृत समाजवादीबाट अध्यक्ष माधव कुमार नेपालसहितका नेता सहभागी थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *