देश

प्रधानमन्त्री ओलीको टिप्पणी: व्यक्ति होइन, देश महत्वपूर्ण

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै एक व्यक्तिलाई संस्था मानेर हिँड्ने प्रवृत्ति सामन्ती सोच भएको बताएका छन् । नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको १५औँ स्मृति दिवसको अवसरमा कांग्रेस नेत्री सुजाता कोइरालाद्वारा लिखित ‘म र मेरो सानो बुवा’ (आत्मकथा) को लोकार्पण गर्दै उनले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले कुनैजना व्यक्ति वा उसको खान्दानलाई संस्था मानेर हिँड्नु पछौटेपन सोच भएको उल्लेख गरे। उनले भने, “सबै नेपालीका पूर्खाले लडेर यो देश बनाएको हो, कुनै एकजना व्यक्तिले बनाएको होइन, कसैले नायकत्व दिएको होला फरक त्यत्ति मात्रै हो, अबको युग त्यसमा फर्कन सक्दैन, त्यस्तो भ्रमका कोही नपर्दा हुन्छ ।”

प्रधानमन्त्री ओलीले सबैका विचार फरक भए पनि देश बनाउने साझा गन्तव्य एउटै हुनुपर्नेमा जोड दिए। “देश र जनताको हितको सबैले इमान्दारीका साथ काम गर्नुपर्छ”, उनले भने । उनले लोकार्पण भएको आत्मकथाबाट गिरिजाप्रसाद कोइराला र सुजता कोइरालाको जीवनका विषयमा धेरै जान्न सकिने उल्लेख गरे।

समारोहमा कांग्रेसका सभापति शेरबहादुर देउवाले गिरिजाप्रसाद कोइरालासँग आफ्नो उतारचडावको सम्बन्ध रहेको स्मरण गर्दै उनलाई सर्वप्रथम २०२५ सालमा नख्खु जेलमा भेट भएको बताए। उनले गिरिजाबाबु नथाक्ने, जुझारु र लडाकु स्वभावको भएको र उनीसँग धेरै लामो समयसम्म काम गर्ने मौका पाएको बताए। आफू सभापति हुनुमा पनि उनको केही न केही योगदान रहेको देउवाले बताए।

कांग्रेस नेता डा शेखर कोइरालाले माओवादीको जनयुद्धपछि देशलाई शान्ति प्रक्रियामा ल्याउन गिरिजाप्रसादले पुर्‍याएको योगदानको चर्चा गरे। उनले विगतबाट पाठ सिक्नुपर्ने र अहिले कांग्रेस र एमालेको सरकार भएकाले देशको सुशासनका निम्ति काम गर्नुपर्ने बताए।

कांग्रेस सहमहामन्त्री भीष्मराज आङदम्बेले कांग्रेस पार्टीभित्र देखिएका गुट–उपगुट अन्त्य गर्नुपर्नेमा जोड दिए। कांग्रेस नेता डा शशाङ्क कोइरालाले गिरिजाप्रसाद कोइरालाले मुलुक र जनताका निम्ति गरेका त्याग, बलिदान र सङ्घर्षका विषयमा स्मरण गराउँदै त्यसबाट नयाँ पुस्ताले धेरै कुरा सिक्नुपर्ने धारणा व्यक्त गरे।

नेत्री सुजाता कोइरालाले लामो मेहनत र अनुसन्धानबाट ‘म र मेरो सानो बुवा’ (आत्मकथा) को जन्म भएको बताइन्। आत्मकथामा आफ्नो पारिवारिक र मुलुकको राजनीतिका धेरै विषय समेटिएको उनले जानकारी दिइन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *