काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा सांसद प्रभु शाहले बिहीबारको ‘प्रधानमन्त्रीसँग प्रश्नोत्तर’ कार्यक्रम बहिष्कार गरेका छन्।
शाहका अनुसार यसअघिका बैठकमा आफूले उठाएका प्रश्नहरूको जवाफ प्रधानमन्त्रीबाट नआएकाले यो कार्यक्रम निरर्थक भएको छ। त्यसैले उनले कार्यसूचीबाटै यसलाई हटाउन माग गरेका थिए।
तर, माग सम्बोधन नभएपछि उनले बैठक नै बहिष्कार गरेको बताए। ‘मैले बैठक बहिष्कार गरेर निस्किएको छु,’ शाहले प्रतिक्रिया दिए।
उनका अनुसार प्रधानमन्त्रीले प्रश्नहरूको जवाफ नदिँदा संसद्को गरिमामै असर परेको छ। यसअघि भएको प्रश्नोत्तर कार्यक्रममा पनि उनले उठाएको प्रश्न प्रधानमन्त्रीले बेवास्ता गरेको गुनासो शाहको छ।




