काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले राजसंस्थासहितको प्रजातन्त्रका लागि नवीन समझदारीको प्रस्ताव गरेका छन्। उनले राजसंस्था पुनर्स्थापनाको आवाज दबाउन खोजे अप्रत्याशित परिस्थिति सिर्जना हुने चेतावनी दिए।
उनले देश भ्रष्टाचारले ग्रस्त भएको र युवाहरू विदेश पलायन भइरहेका भन्दै राष्ट्रिय एकताको प्रतीकका रूपमा राजसंस्था आवश्यक रहेको तर्क गरे। मिश्रले ठूला दलहरूले जनताको आवाजलाई खिज्याइरहेको आरोप लगाउँदै शासकहरूलाई इतिहासबाट पाठ सिक्न आग्रह गरे।
‘राजसंस्थाविरुद्ध लड्ने माओवादी समेत समेटेर नवीन समझदारीमा जानुपर्छ,’ उनले भने, ‘नत्र स्थिति नियन्त्रणबाहिर जान सक्छ।’




