राजनीति

सरकार सात बुँदे सहमतिअनुसार चल्नुपर्छ: सांसद अर्जुननरसिंह केसी

रुपन्देही । सत्ता साझेदार नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य अर्जुननरसिंह केसीले वर्तमान सरकार सात बुँदे सहमतिलाई आधार बनाएर चल्नुपर्ने बताएका छन्। नेपाल प्रेस युनियन रुपन्देहीले बुटवलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै केसीले संसद्को पहिलो र दोस्रो ठूलो दलको सरकार बन्दा पनि नागरिकमा निराशा र असन्तुष्टि कायमै रहेकाले सरकार गम्भीर हुनुपर्ने बताए। नागरिक असन्तुष्टिको मुख्य कारण मुलुकमा सुशासन कायम नहुनु र भ्रष्टाचार व्याप्त हुनु केसीको बुझाइ छ।

सरकारले प्रभावकारी काम गर्न नसक्नुको पछाडि सरकारमा कांग्रेसका अनुहार कमजोर हुनुले पनि प्रभाव पारेको उनको धारणा छ। केसीले संसद्भित्र रहेका दलहरू मात्र नभई संसद् बाहिर रहेका दलहरूलाई समेत समेटेर सर्वदलीय समितिमा छलफल गरी संविधान संशोधन गर्नुपर्ने धारणा राखे। यसका लागि प्रक्रिया थालनी गर्न आवश्यक रहेको उनको भनाइ छ। ‘संविधान संशोधनका लागि अहिल्यैबाट प्रक्रिया थाल्नुपर्छ, पहिले सत्तारुढ दलभित्र छलफल हुनुपर्छ। त्यसपछि संसद्भित्र रहेका र संसद् बाहिर रहेका दलहरूलाई समेटेर सर्वदलीय समिति बनाएर व्यापक छलफलबाट निचोड निकाल्नु पर्छ,’ उनले सुझाव दिए।

केसीले सरकारले ल्याएको भूमिसम्बन्धी र सुशासनसम्बन्धी अध्यादेश फिर्ता गर्नुपर्ने बताए। ती अध्यादेशले नीतिगत भ्रष्टाचार बढाउने र स्वार्थ समूहलाई वैधानिक ढङ्गले फाइदा पुर्‍याउने उनको तर्क छ। साथै, उनले कांग्रेसको महाधिवेशन २०८४ को निर्वाचन अघि नै हुनुपर्ने बताए। महाधिवेशन २०८३ मंसिर भित्र गर्नुपर्ने उनको धारणा छ। निर्वाचनपछि महाधिवेशन पुर्‍याउँदा पार्टीको वैधानिक अस्तित्वमा नै संकट आउने उनको भनाइ छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *