काठमाडौं । नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले प्रतिपक्षी दलहरूले अध्यादेशको बारेमा अनावश्यक बखेडा झिकेको बताएका छन् ।
प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै सांसद घिमिरेले सरकारले संवैधानिक व्यवस्थाअनुसार नै अध्यादेश ल्याइएको बताए ।
उनले आर्थिक उदारीकरण र आर्थिक उत्पादनको क्षेत्रमा निजी क्षेत्रलाई प्रोत्साहन गर्नको लागि अध्यादेश ल्याइएको बताए ।
उनले अध्यादेश ल्याइएकोबारे प्रतिपक्षी दलहरूले प्रश्न गर्ने गरेको उल्लेख गर्दै बिग्रियो अध्यादेशले के बिग्रियो भन्दै प्रतिप्रश्न गरे ।
यदि विरोध नै गर्ने भए संविधानबाटै अध्यादेश ल्याउने कुरा हटाउनुपर्ने उनको भनाइ छ । उनले संविधान संशोधनको कुरा उठिरहेको उल्लेख गर्दै अध्यादेश ल्याउने व्यवस्था खारेज गर्न प्रस्ताव राखे ।
प्रतिपक्षी दलहरूले संसद् छलेर अध्यादेश ल्याएको आरोप लगाउने गरेको उल्लेख गर्दै उनले संसद् छलेर कानुन नबन्ने स्पष्ट पारे । अध्यादेशमा सुधार गर्नुपर्ने कुरामा आवश्यक संशोधन हाल्न सकिने उनी बताउँछन् ।




